सिसिटिभीसहित मोरङमा मतगणनास्थल तयार, एउटा निर्वाचन क्षेत्रमा तीन ठाउँबाट गणना हुने

Aadil Times 1+ समाचार ( )
प्रत्यक्ष तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने तयारी गरि..
३ मंगशिर २०७९

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाका लागि मोरङमा मतगणना स्थल तयार भएको छ । मोरङमा प्रतिनिधि सभाको निर्वाचन क्षेत्र ६ र प्रदेश सभाको १२ वटा निर्वाचन क्षत्रे रहेको छ ।

मोरङको निर्वाचन क्षेत्र नं. ४, ५ र ६ को विराटनगरस्थित आदर्श माविमा गणना हुने मुख्य निर्वाचन अधिकृत दुर्गा प्रसाद ढुङ्गेलले जानकारी दिए । मोरङ क्षेत्र नं. १ को उर्लाबारी नगरपालिका, क्षेत्र नं. २ को रतुवामाइ नगरपालिकामा रहेको विश्वनाथ मन्दिर र क्षेत्र नं. ३ को बेलबारी नगरपालिका ३ मा रहेको भगवती माविमा गणना हुने भएको निर्वाचन अधिकृत ढुङ्गगेलले जानकारी दिए । प्रत्येक निर्वाचन क्षेत्रमा प्रारम्भिक चरणमा तीन वटा कोठा मतगणना स्थल बनाएको उनले बताए ।

‘अहिले प्रत्येक निर्वाचन क्षेत्रमा तीन वटा गणना स्थल बनाएको छ,’ उनले भने, ‘आवश्यकता अनुसार पछि थप हुनेछ ।’ एउटा मतगणना स्थलमा ६ जना गणकको टोली रहेको छ । ‘मत गणना सुरु भएको तीन दिन भित्र प्रत्यक्ष तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने तयारी गरिएको छ,’ मुख्य निर्वाचन अधिकृत ढुङ्गेलले भने, ‘ मङ्सिर ५ गते बिहानबाट गणना सुरु भए प्रत्यक्षतर्फको ढिलोमा ८ गतेभित्रमा प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक गरिसक्ने गरी काम गर्नेछौँ ।’

मतगणना स्थलमा तार जाली लगाएको छैन । बाँसको बारमा सिसिटिभी जडान गरिएको छ । प्रत्येक मतगणना स्थलमा सिसिटिभी जडान गरिएको छ । मोरङ क्षेत्र नं.४ को गणना स्थल आदर्श माविको भुइतलामा रहेको छ । क्षेत्र नं.५ को गणना स्थल आदर्श स्कुलको इन्जिनियरिङ भवनमा रहेको छ । ६ नं. निर्वाचन क्षेत्रको आदर्श स्कुलको दोस्रो तलामा गणना स्थल बनाएको छ ।

‘‘मतगणना स्थल तयार भइसक्यो’, उनले भने, ‘सुरक्षित रूपमा मतगणना सम्पन्न गरिने भएकोले हामीले तार जाली लगाएको छैन । आयोगबाट पनि त्यस्तो कुनै निर्देशन आएको छैन ।’

मोरङमा ८ सय ३९ वटा मतदान केन्द्र र ३ सय ६ वटा मतदान स्थल रहेको छ । जिल्लामा ७ लाख ३५ हजार ५ सय २५ जना मतदाता रहेका छन् । जसमा ३ लाख ७४ हजार ३ सय २६ जना पुरुष र ३ लाख ६१ हजार १ सय ९३ जना महिला रहेका छन् भने ६ जना अन्य रहेका निर्वाचन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया