मतगणना आजबाटै सुरू गरिने, प्रत्यक्षतर्फको गणना तीन दिनमा सक्ने तयारी

Aadil Times 1+ समाचार ( )
राष्ट्रिय मान्यता प्राप्त गर्न दलले प्रतिनिधि सभातर्फ..
४ मंगशिर २०७९

विराटनगर । निर्वाचन आयोगले मतदान सकिएलगत्तै मतगणना सुरु हुने जनाएको छ । आयोगले तीन दिनभित्र प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्षतर्फको मतगणना सम्पन्न गर्ने तयारी गरेको छ ।

सदरमुकामबाट टाढा रहेको निर्वाचन क्षेत्रमा त्यहीँ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । गणना कार्यसमेत सम्बन्धित क्षेत्रमै रहेको निर्वाचन अधिकृतको कार्यालयमा हुने आयोगले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका बुझिसकेपछि मतगणना तयारी गर्नेछन् । निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका बमोजिम सर्वदलीय छलफल गरी मतगणना सम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराएर सहमतिमा मतगणना सुरु गर्नेछन् ।

आयोजका सहायक प्रवक्ता भुसालले प्रतिनिधि र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको गणना एकैपटक सुरु हुने बताएका छन् ।

प्रत्येक निर्वाचन क्षेत्रका लागि छ जनाको मतगणना टोली रहनेछ । निर्वाचन अधिकृतको कार्यालयले आवश्यकता अनुसार एउटा निर्वाचन क्षेत्रमा अधिकतम १५ स्थानमा मतगणना गर्न सक्नेछन् ।

त्यसैगरी प्रतिनिधि सभाअन्तर्गत प्रत्यक्षतर्फ प्रदेश १ बाट २८, मधेशबाट ३२, बागमतीबाट ३३ र गण्डकीबाट १८ जना निर्वाचित हुनेछन् ।

लुम्बिनीबाट २६, कर्णालीबाट १२ र सुदूरपश्चिमबाट १६ जना प्रतिनिधि सभा सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् ।

प्रतिनिधि सभाको समानुपातिकतर्फ भने दलले पाएको मतका आधारमा ११० सिटको टुङ्गो लाग्नेछ । समानुपातिक निर्वाचन प्रणालीको सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभातर्फ समानुपातिकमा निर्वाचित हुन राजनीतिक दलले कुल खसेको मतको कम्तीमा तीन प्रतिशत मत पाएको हुनुपर्छ ।

प्रदेशमा भने समानुपातिक तर्फको २२० सिटको बाँडफाँटमा योग्य हुन राजनीतिक दलले कुल खसेको मतको १.५ प्रतिशत मत पाएको हुनुपर्छ । राष्ट्रिय मान्यता प्राप्त गर्न दलले प्रतिनिधि सभातर्फ समानुपातिकमा तीन प्रतिशत र प्रत्यक्षमा कम्तीमा एक सिट जितेको हुनुपर्छ ।


प्रतिक्रिया