निर्वाचनमा सघाउने सबैलाई धन्यवाद..

Aadil Times 1+ समाचार ( )
११ मंगशिर २०७९

मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आमनिर्वाचनलाई सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएको छ ।

कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सघाउने सबैलाई धन्यवाद दिएको हो । प्रतिनिधि सभातर्फ ६ र प्रदेशसभातर्फ १२ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा चुनाव सम्पन्न गराउन गत असोज २० गते मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना गरिएका थिए ।

मोरङ जिल्ला अदालतका १ नम्बर न्यायाधीश दुर्गाप्रसाद ढुंगेललाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको थियो । ढुंगेलको नेतृत्वमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । ‘शान्तिपूर्ण रूपमा मनोनयन दर्तादेखि मतदान तथा मतगणनाको कार्य सम्पन्न भएर मोरङका सबै निर्वाचन क्षेत्रको निर्वाचन परिणासमेत घोषणा भइसकेको छ,’ मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘यस महाअभियानलाई निष्पक्ष, स्वच्छ, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, पर्यवेक्षक, संचारजगत, सुरक्षाकर्मी तथा कर्मचारीलगायत सरोकारवाला सबैले खेलेको सकारात्मक तथा सहयोगी र समन्वयात्मक भूमिकाप्रति मुख्य निर्वाचन अधिकृतको कार्यालय र मोरङका सम्पूर्ण निर्वाचन अधिकृतको कार्यालयहरु हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा पनि सम्पूर्ण सरोकारवालाबाट यस्तै सकारात्मक भूमिकाको अपेक्षा गर्दछौँ ।’

मोरङको निर्वाचन क्षेत्र नम्बर १ मा गोपालप्रसाद थापा, २ मा नगेन्द्र केशरी पोखरेल, ३ मा रामहरि शर्मा काफ्ले, ४ मा मणिराम पोखरेल र ५ मा गणेश नायकलाई निर्वाचन अधिकृत तोकिएको थियो । क्षेत्र नम्बर ६ को निर्वाचन भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले नै सम्पन्न गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले उच्च सुरक्षा सतर्कता अपनाइएका कारण निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएर मतपरिणाम पनि घोषणा भइसकेको जानकारी दिए । निर्वाचनलाई असर पुर्याउने हिसाबले ठाउँठाउँमा ‘नक्कली बम’ पनि राखिएको थियो ।

मतदानका दिन केही ठाउँमा विष्फोटक पदार्थ पनि विष्फोट गराइयो । नेपाली सेनाको टोलीले शंकास्पद वस्तुलाई डिस्पोज गर्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने वातावरण बनाएको हो ।

बिना अवरोध र शान्तिपूर्ण हिसाबले निर्वाचन सम्पन्न गराउन मुख्य निर्वाचन अधिकृत ढुंगेल, प्रजिअ दाहाल, नेपाली सेनाका प्रमुख सेनानी अमृत थापामगर, मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, सशस्त्रका प्रमुख एसपी राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धानका प्रमुख बासुदेव सिग्देललगायत खटिएका थिए ।


प्रतिक्रिया