राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन

Aadil Times 1+ समाचार ( )
१० फाल्गुन २०७९

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ । निर्वाचन अधिकृतको कार्यालयले आज राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि ८८१ जनाको मतदाता नामावली प्रकाशन गरेको हो । यसमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश छ ।

राष्ट्रपतिको चुनावमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यले मतदान गर्न पाउनेछन् । अधिकृत कार्यालयका अनुसार राष्ट्रपतिको चुनावमा ८८१ मतदाता सहभागी हुनेछन् ।

राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभामा गरी जम्मा ८८४ रहेकोमा मनाङ क्षेत्र नम्बर १ का सांसद टेकबहादुर गुरुङ र नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी निलम्बनमा रहेकाले मतदानमा सहभागी हुन पाउने छैनन् ।

त्यसैगरी, चितवन क्षेत्र नम्बर २ मा पनि खाली छ । ४ मंसिरमा भएको चुनावमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका थिए । तर, सर्वोच्च अदालतले नागरिकता प्रकरणमा सांसद हुन अयोग्य रहेको फैसला गरेपछि उक्त क्षेत्र खाली भएको हो ।

यसरी दुई क्षेत्रका सांसद राष्ट्रपतिको चुनावमा सहभागी हुन नपाउने भएकाले मतदातको संख्या ८८१ कायम गरिएको हो ।

प्रतिक्रिया