चुनावी घमसा घमसी : मोरङमा उम्मेदवारको चुनावी दाउपेच के ?

Aadil Times 1+ समाचार ( )
घरघरमा पुगेर मतदातालाई आफ्नो एजेन्डा सुनाउँदै भोट माग्ने गरिएको...
१८ कार्तिक २०७९

विराटनगर । आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर मोरङमा विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरुले चुनावी प्रचारप्रसार तीव्र पारेका छन् ।

विभिन्न दलका तथा स्वतन्त्र उम्मेदवारले घरदैलो, मतदाता भेटघाट, कोणसभा, मोटरसाइकल र्याली लगायतका कार्यक्रमसहित चुनावको प्रचार गरिरहेका हुन् । मतदातामाझ आफ्ना प्रतिबद्धता राख्दै उम्मेदवारहरु घरघरमा पुग्न थालेका छन् । हात जोडेर मतदातालाई आफ्नो पक्षमा पार्ने कोसिस गरिरहेका हुन् ।

उम्मेदवार तथा राजनैतिक दलका नेता कार्यकर्ताको दोहोरिलत्ताले चुनावी चहलपहल पनि बढाएको छ । चुनावका बेला भोट माग्न आउने र जितेर गएपछि वास्ता नगर्ने भनेर कतिपय ठाउँमा आलोचना पनि भइरहेको छ । विगत हेर्दा त्यस्तै पनि देखिएको छ ।

राजनीतिक दल र तिनका उम्मेदवारप्रति जनमानसमा वितृष्णा बढेको छ । किनभने यसअघि विभिन्न प्रतिबद्धता गरेर चुनाव जिते पनि पूरा नगरेको आरोप उनीहरुमाथि लागिरहेको छ । पछिल्लो समय मुलुकको राजनीतिक खिचातानी वितृष्णाको प्रमुख कारण हो ।

चुनावका बेला प्रतिवद्धता गर्ने, तर चुनाव जितेर गएपछि बिर्सिने परिपाटी नेताहरुको पुरानै समस्या रहेको मोरङ उर्लाबारीका गणेश बस्नेतले बताए । उनका अनुसार उम्मेदवारले गरेका प्रतिबद्धता ३० प्रतिशतजति मात्रै पूरा गरिदिएको भए पनि विकास निर्माणका धेरै काम हुने थिए । जनताले विकासको अनुभूति गर्ने थिए ।

तर पनि उम्मेदवारहरु विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक सुरक्षा, सुकुम्बासी समस्याको समाधान, रोजगारीको सिर्जना लगायतका मुद्दा उठाएर चुनावमा होमिएका छन् । चुनावी मैदानमा उनीहरुले उठाएका मुद्दामा भने मतदाता विश्वस्त छैनन् । यद्यपि मुलुक चुनावमय हुँदा क्षेत्रगत हिसाबमा उम्मेदवारहरु आआफ्ना एजेन्डा मतदातामाझ पुर्याउन व्यस्त छन् ।

आफ्ना निर्वाचन क्षेत्रमा केन्द्रित बनेर उनीहरुले एजेन्डा प्रस्तुत गर्दै चुनावमा विजयी गराउन आग्रह गर्ने गरेका छन् । मोरङ क्षेत्र नम्बर ६ ‘क’ मा नेकपा ९एमाले०बाट प्रदेशसभा सदस्यकी उम्मेदवार रीता न्यौपानेले चुनावी प्रचार अभियानलाई तीव्र पारिएको जानकारी दिइन् ।

घरघरमा पुगेर मतदातालाई आफ्नो एजेन्डा सुनाउँदै भोट माग्ने गरिएको उनले बताइन् । उनका अनुसार वडागत रुपमा समूह बनाएर प्रचार अभियान चलाइएको छ । अरुलाई दोष दिनुभन्दा नि आफूले काम गरेर नै देखाउने रीता बताउँछिन् ।

‘को कस्तो उम्मेदवार भनेर मलाई जानु छैन, कस्ले के गर्यो त्यो पनि मलाई आवश्यक छैन्’, उनले भनिन्, ‘म कसैलाई गाली, आरोप–प्रत्यारोप गर्दिन, लाञ्छना पनि लगाउँदिन, आफ्नो एजेन्डा राख्छु, जनताका समस्या सुन्छु र सोही अनुसार काम गरेर देखाउँछु ।’

आफ्ना प्रतिस्पर्धी सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा ९माओवादी केन्द्र०का जीवन आचार्यले महिलालाई होच्याएर अभिव्यक्ति दिएको विषयमा मतदाताले बोल्न आग्रह गरिरहे पनि आफूले नबोलेको रीताले बताइन् । महिला, पुरुष सबै मतदातालाई समान रूपमा हेर्नुपर्ने उनको तर्क छ ।

उनले को राम्रो हो भनेर छुट्याउने अधिकार जनतालाई भएको पनि बताइन् । जनताको समस्या बुझेको, सँधै जनतामाझ नै रहेको र सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सोच भएकाले नै जनताले आफूलाई जिताउने अपेक्षा उनले गरेकी छन् ।

सोही क्षेत्रमा आचार्यले पनि चुनावी अभियानलाई तीव्र पारेका छन् । आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्दै मतदातालाई आकर्षित गर्न विभिन्न हिसाबले चुनावको प्रचार गरिरहेका हुन् । आचार्य माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ हुन् । चुनावी अभियानका क्रममा केही दिनअगाडि महिलालाई होच्चाएर दिएको अभिव्यक्तिले आचार्य विवादमा तानिएका थिए ।

एमालेका तर्फबाट क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार लालबाबु पण्डित पनि चुनावी अभियानमा सक्रिय बनेका छन् । आफूले ५ वर्षको अवधिमा गरेका कामहरु जनतामाझ राख्दै अपुरो काम पूरा गर्नका लागि फेरि निर्वाचनमा होमिएको उनले बताए ।

सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला उमेदवार छन् । कोइरालाले पनि चुनावी प्रचार, घरदैलो, मतदाता भेटघाटलाई तीव्र गतिमा अघि बढाएका छन् । सत्तारुढ गठबन्धनका नेताहरुले उनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर भोट मागिरहेका छन् ।

क्षेत्र नम्बर ६ को प्रदेशसभा ९ख० मा एमालेका पर्शुराम बस्नेत र सत्ता गठबन्धका तर्फबाट कांग्रेसका केदार कार्की उमेदवार छन् । कार्की हाल प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हुन् ।

बस्नेत र कार्कीले पनि आआफ्नै हिसाबबाट चुनावी प्रचार गरिरहेका छन् । यद्यपि यही क्षेत्रबाट २०७४ सालमा निर्वाचित बनेका कार्कीले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप छ । मन्त्री भएपछि कार्की अनेक विवादमा मुछिए ।

विभिन्न योजनामा अनियमितता गरेको आरोप मतदाताले कार्कीमाथि लगाइरहेका छन् । मन्त्रालयमा कार्यकर्ता र आसेपासेलाई नियुक्ति दिएको, केही झुन्ड र स्वार्थ समूहको मात्रै नेतृत्व गरेर हिँडेको, आफ्नो निर्वाचन क्षेत्रभित्र पार्टीमा गुटको राजनीति गरेको, कार्यकर्तामाथि विभेदपूर्ण व्यवहार गरेको, विभिन्न विवादास्पद अभिव्यक्ति दिएको लगायतका कारण उनी विवादको भूमरीमा परेका छन् । जनभावनाविपरीतका काम गरेको आरोप लागेका कार्की अहिले तिनै मतदातासँग भोट माग्न हिँडिरहेका छन् ।

क्षेत्र नम्बर ५ मा पनि चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरु आआफ्नै हिसाबले मत माग्न व्यस्त छन् । उम्मेदवारले प्रत्यक्ष भेटघाट गरेर तथा विभिन्न माध्यमको प्रयोग गरेर भोट मागिरहेका हुन् ।

यो क्षेत्रमा सत्तारुढबाट माओवादीका शिवकुमार मण्डल र एमाले–जसपा गठबन्धनबाट जसपाका राजकुमार यादव प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । मण्डल २०७४ सालमा बाम ९एमाले–माओवादी० गठबन्धनको बलमा प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

प्रदेशसभातर्फ ‘क’मा कांग्रेसका गयानन्द मण्डल गनगाई र एमालेका सन्तोषकुमार साह तथा ‘ख’मा कांग्रेसका अमृतकुमार अर्याल र एमाले–जसपा गठबन्धनबाट जसपाका जयराम यादव उम्मेदवार छन् । यादव प्रदेश १ का स्वास्थ्यमन्त्री हुन् ।

मोरङको क्षेत्र नम्बर ४ मा पनि सत्तारुढ गठबन्धन र एमाले गठबन्धनका उम्मेदवार चुनाव प्रचारमा जोडतोडका साथ लागेका छन् । घरघरमा पुगेर फकाउँदै मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका हुन् ।

यो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट माओवादीका अमनलाल मोदी र एमालेबाट विनोद ढकाल प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । बाम गठबन्धनको बलमा कांग्रेस नेता महेश आचार्यलाई हराउँदै मोदी २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

प्रदेशसभातर्फ ‘क’मा कांग्रेसका गुरुराज घिमिरे र एमालेका जयप्रकाश चौधरी तथा ‘ख’मा कांग्रेसका भीम पराजुली र एमालेका जीवन घिमिरे चुनावी मैदानमा छन् । पराजुली विराटनगर महानगरपालिकाका पूर्वमेयर हुन् । घिमिरे प्रदेशका पूर्वसामाजिक विकास मन्त्री हुन् ।

मोरङको क्षेत्र नम्बर ३ मा कांग्रेसका सुनील शर्मा र एमालेका भानुभक्त ढकाल प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । २०७४ सालमा ढकालसँग शर्मा पराजित भएका थिए । अहिले यही क्षेत्रमा राप्रपाबाट नायिका रेखा थापाको उम्मेदवारी परेपछि उनको चुनावी चर्चा चुलिएको छ । प्रदेशसभातर्फ ‘क’मा कांग्रेसका शेखरचन्द्र थापा र एमालेका दिलिपकुमार राई तथा ‘ख’मा सत्तारुढबाट नेकपा ९एकीकृत समाजवादी०का लक्ष्मीकुमार श्रेष्ठ र एमालेका ज्ञानेन्द्र सुवेदी उम्मेदवार छन् । थापा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री हुन् ।

राई पथरीशनिश्चरे तथा सुवेदी बेलबारी नगरपालिकाका पूर्वमेयर हुन् । अरु निर्वाचन क्षेत्रमा जस्तै यो क्षेत्रमा पनि सत्तारुढ र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । क्षेत्र नम्बर २ मा कांग्रेसबाट सुजाता कोइराला र एमालेबाट ऋषिकेश पोख्रेल प्रतिनिधिसभाका उम्मेदवार छन् । सुजाता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी र पोख्रेल एमाले मोरङका अध्यक्ष हुन् ।

प्रदेशसभातर्फ ‘क’मा सत्तारुढबाट माओवादीका गणेश उप्रेती र एमालेका दानबहादुर कार्की तथा ‘ख’मा कांग्रेसका विनोद कार्की र एमालेका लीलाबल्लभ अधिकारीले उम्मेदवारी दिएका छन् । अधिकारी यही क्षेत्रबाट २०७४ सालमा प्रदेशसभा सदस्य विजयी भएका थिए । क्षेत्र नम्बर १ मा कांग्रेसका डिगबहादुर लिम्बू र एमालेका घनश्याम खतिवडा प्रतिनिधिसभातर्फको प्रतिस्पर्धामा छन् । लिम्बू कांग्रेस मोरङका सभापति हुन् । खतिवडा यही क्षेत्रबाट २०७४ सालमा निर्वाचित भएका थिए ।

प्रदेशसभातर्फ ‘क’मा माओवादीका कुलप्रसाद साम्बा र एमालेका उमकान्त गौतम तथा ‘ख’मा एकीकृत समाजवादीका उपेन्द्रप्रसाद घिमिरे र एमालेका खड्गबहादुर बस्नेत उम्मेदवार छन् । साम्बा र घिमिरे २०७४ सालमा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । घिमिरे सञ्चार तथा यातायात मन्त्री हुन् ।

प्रतिक्रिया