खोटाङमा चार वर्षपछि सुन्तला उत्पादन बढ्यो

Aadil Times 1+ समाचार ( )
१८ पौष २०७९

खोटाङमा चार वर्षपछि सुन्तला उत्पादनमा बृद्धि भएको छ । विगतका तीन आर्थिक वर्ष लगातार सुन्तला उत्पादनमा ह्रास आएको जिल्लामा यो वर्ष सुन्तला उत्पादनमा बृद्धि भएको हो ।

७४२ हेक्टरमा आर्थिक वर्ष २०७८\७९ मा ३ हजार ३३१ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्लामा आर्थिक वर्ष २०७९\ ८० मा ३ हजार ७२५ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।

राम्रो मौसम तथा रोगकिराको न्यून क्षतीले गर्दा हलेसी तुवाचुङ नगरपालिकाको सल्ले, हलेसी, बराहपोखरी गाउँपालिकाको सुन्तले, जन्तेढुंगा गाउँपालिकाको घोर्ले, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको छोरम्बु, याम्खामा बृद्धि सुन्तला उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रशार अधिकृत सञ्जयकुमार पण्डितले बताए । सुन्तला उत्पादन बढ्दा किसान उत्साहित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष दोब्बर आम्दानी भएको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेका किसान श्याम राईले बताए ।

बगानबाट साँढे तीन ट्याक्टर सुन्तला बिक्री भयो,’ राईले भने, ‘यसपल्ट साँढे पाँच लाखको आम्दानी भयो । गत वर्षभन्दा डवल आम्दानी भएको छ ।’ खोटाङको याम्खा, लामीडाँडा, टेम्मा, चिसापानी, डम्बर्खुशिवालय, दिप्लुङ, रतन्छा, मंगलटार, सल्ले, काहुले, राजापानी लगायतका २६ भन्दा बढि वडामा व्यवसायीकरुपमा सुन्तला उत्पादन हुने गरेको छ ।

जिल्लामा उत्पादित सुन्तला ट्याक्टरमार्फत सबैभन्दा बढि उदयपुरको बेल्टार हुँदै ईटहरी, धरान, विराटनगरलगायतका शहरमा पुग्ने गरेको छ । गाउँ–गाउँमा सडकको पहुँच विस्तारसँगै याम्खा, टेम्मा, चिसापानीको घोर्ले लगायतका कतिपय ठाउँका किसानको बगानमा उत्पादन भएका सुन्तला सिधै ठेकेदारमार्फत तराई निर्यात हुन थालेको छ ।

दिक्तेल, हलेसी, बाक्सिला, रभुवा, खोटाङबजार, चिसापानी लगायतका बजारमा अहिले सरदर प्रतिदाना ५ रुपैयाँ तथा प्रतिकेजी सयको हाराहारीमा सुन्तला खरिद बिक्री भइरहेको छ । सुन्तला खेतीबाट राम्रो आम्दानी गर्ने सम्भावना भएपनि सरकारी निकायबाट उचित सहयोग पाउन नसकेको कृषकहरुको गुनासो छ ।


प्रतिक्रिया