सन्दीप लामिछानेको मुद्दा न्यायाधीश ईश्वर खतिवडाको इजलासमा

Aadil Times 1+ समाचार ( )
११ फाल्गुन २०७९

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पाटन उच्च अदालतले गरेको फैसलामाथिको पुनरावेदनउपर आज सर्वोच्चमा सुनुवाइ हुँदैछ ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा उक्त मुद्दाको १६ नम्बरमा पेसी चढेको छ । उच्च अदालतले धरौटीमा छाड्ने फैसला गरेपछि सरकारी पक्षले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

सँगै सन्दीपले पनि हिजो विदेश भ्रमणमा लगाइएको प्रतिवन्ध फुकुवा गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका छन् । यो निवेदनलाई पनि सँगै राखेर सुनुवाइ हुनुपर्ने सन्दीपका वकिलको माग छ ।

उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको थियो जसले गर्दा यूएईमा खेल्न जाने नेपाली राष्ट्रिय टीममा उनी समावेश छैनन् । सन्दीपले उक्त रोक हटाएर आफूलाई यूएई जाने अनुमति दिन निवेदनमा आग्रह गरेका छन् ।

सन्दीपको निवेदनमा विदेश भ्रमणको रोक फुकुवा गर्न, धरौटी रकम अत्याधिक भएकाले घटाउन तथा दोषी ठहर नहुँदै आफ्नो गोपनीयता उल्लंघन गरी अपराधिका रुपमा चित्रित गरिएको त्यसलाई रोक्न माग गरिएको छ ।

यदि सन्दीपको माग सुनुवाइ गर्दै भोलि सर्वोच्चले विदेश भ्रमणको रोक हटायो भने उनी यूएई जान सक्नेछन् ।

प्रतिक्रिया