हुलाकी सडकका पेटी ठेकेदार रकम भुक्तानी नगरी फरार

Aadil Times 1+ समाचार ( )
१४ पौष २०७९

हुलाकी सडक निर्माणका क्रममा स्थानीय व्यवसायीबाट खरिद गरेको सामग्रीको बिल भुक्तानी गर्न ठेकेदार कम्पनी गजुरमुखी कन्स्ट्रक्सन कम्पनीले वेवास्ता गरेको भन्दै स्थानीयहरुले विरोध जनाएका छन् । स्थानीयको ६ लाख रुपैयाँ भन्दा बढी रकम भुक्तानी नगरी पेटी ठेकेदार भागेपछि स्थानीय व्यवसायी ठगीमा परेका हुन् ।

ठेकेदार कम्पनीले नियुक्त गरेको पेटी ठेकेदारले निर्माणका क्रममा स्थानीय व्यवसायीसँग खरिद गरेको निर्माण सामग्री तथा कामदार कर्मचारीहरुको खाने बस्ने व्यवस्था गरेवापतको रकम भुक्तानी नगरी ठेकेदार फरार भएको स्थानीयले बताएका छन् ।

हुलाकी सडक निर्माणको ठेक्का पाएको गजुरमुखीले नियुक्त गरेको पेटी ठेकेदारले स्थानीयको रकम नतिरेपछि व्यवसायीहरुले गजुरमुखीसँग रकम दाबी गरेका थिए । तर, गजुरमुखीले रकम भुक्तानी दिन चासो नदिएको र असुलीका लागि समन्वयसमेत नगरेको भन्दै उनीहरु आक्रोसित भएका छन् ।

स्थानीय व्यवसायीहरु रमेश गौतम, दुर्गा बाँस्कोटा, दिपेन्द्र निरौला, पूर्णहाङ लिम्बू, शंकर ठाकुर र देबेन्द्र मिश्रले मंसिर २९ गते रकम उपलब्ध गराउन सहयोग गर्न हुलाकी सडक डिभिजन कार्यालयमा निवेदनसमेत दिएका छन् । तर, अहिलेसम्म पनि उनीहरुले रकम पाएका छैनन् ।निवेदनमा रमेश गौतमले ३ लाख २५ हजार रुपैयाँ, बाँस्कोटाले १ लाख २५ हजार रुपैयाँ, दिपेन्द्र निरौलाले ४० हजार रुपैयाँ, पूर्णहाङ लिम्बूले ४० हजार रुपैयाँ, शंकर ठाकुरले २५ हजार रुपैयाँ र देवेन्द्र मिश्रले ६० हजार रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको उल्लेख छ ।

प्रतिक्रिया