विराटनगरका ८ ठाउँमा ट्राफिक लाइट जडान हुँदै

Aadil Times 1+ समाचार ( )
११ फाल्गुन २०७९

विराटनगर महानगरपालिका क्षेत्रको सडकमा ट्राफिक लाइट जडान प्रक्रिया सुरू भएको छ। मुख्य राजमार्ग र बजार क्षेत्रका ८ स्थानमा लाइट जडानको तयारी भएको हो।

६ लेन सडक आयोजना इटहरीले विराटनगरमा ट्राफिक लाइट जडानको प्रक्रिया अघि बढाएको हो। यसअघि प्रदेश नम्बर १ सरकारले इटहरीको मुख्य चोकमा गत वर्ष ट्राफिक लाइट जडान गरेको थियो।

प्रदेशको राजधानी सहर विराटनगरमा भने अहिलेसम्म ट्राफिक लाइटको प्रबन्ध भएको थिएन। भारतसितको सीमावर्ती औद्योगिक नगर विराटनगरमा सडक अधिक भीडभाडयुक्त र व्यस्त रहँदै आएको छ।

कार्कीका अनुसार मुख्य राजमार्गको रोडशेष चोकदेखि राजवंशी चोकसम्मको क्षेत्रमा पाँच ठाउँमा ट्राफिक लाइट जडान हुनेछ। ती स्थानमा ६ लेन सडक आयोजना इटहरीले लाइट जडान गर्नेछ।

बजार क्षेत्रका तीन स्थानमा महानगरले लाइट जडान गर्नेछ। ट्राफिक चोकदेखि तीनपैनीसम्म तीन ठाउँमा महानगरले ट्राफिक लाइट जडान गर्ने तयारी गरेको छ। बजार क्षेत्रको यो खण्ड ज्यादै भीड हुने गरेको छ।

६ लेन सडक आयोजनाले मुख्य राजमार्ग अन्तर्गत रोडशेष, घाँसचोक, बरगाछी, कञ्चनबारी र राजवंशी चोकमा ट्राफिक लाइट जडान गर्नेछ भने महानगरले जलजला चोक, तीनपैनी र अर्को ट्राफिक चोक वा अस्पताल चोकमध्ये एक ठाउँमा जडान हुनेछ।

तत्कालको आवश्यकता ट्राफिक चोक भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने माग गरिएको ट्राफिक प्रमुख कार्कीले बताए।


प्रतिक्रिया