तुलसी सहकारीको ८५ करोड जोखिममा परेको अनुमान

Aadil Times 1+ समाचार ( )
११ फाल्गुन २०७९

विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुमुखी सहकारीले अस्वभाविक ‘कमिसन’ र ब्याज दिने प्रलोभनमा बचत रकम संकलन गरेको पाइएको छ । उसले बचतकर्तालाई फिक्स डिपोजिट गरे १५ प्रतिशतदेखि १८ प्रतिशतसम्म ब्याज दिने प्रलोभन पनि देखाएको थियो ।

सहकारीमा विराटनगर १ की गीता गिरीले १५ प्रतिशत ब्याज पाउने लोभमा परी ४ करोड रुपैयाँ जम्मा गरेकी थिइन् । घरजग्गा बिक्री गरेर कमाएको पैसा उनले बचत गरेको बताएका थिए ।

सहकारीले आकर्षक ५ वर्षे डबल स्किम पनि दिएको थियो । त्यही स्किमको लोभमा परेर थुप्रैले फिक्स डिपोजिट गरेका थिए । कतिपयलाई १८ प्रतिशतसम्म ब्याज दिने भन्दै बचत रकम संकलन भएको बचतकर्ताहरु बताउँछन् । बचत ल्याउनेलाई पनि १५ प्रतिशतसम्म कमिसन दिने गरेको बताइएको छ ।

करिब ४५ वर्ष नेपाल टेलिकममा जागिर खाएका प्रेम आचार्यले त्यहाँबाट आएको ७५ लाख रुपैयाँ सोही सहकारीमा बचत गरेका थिए । विराटनगर ५ की रञ्जु झाँडगले झाडु, पोचा लगाएर ७ लाख रुपैयाँ जम्मा गरेकी थिइन् । उनको रकम पनि डुबेको छ ।

विराटनगर ३ कै भीम माया तामाङले १० लाख रुपैयाँ बचत गरेकी थिइन् । होटल व्यवसाय गरेर कमाएको रकम डुब्न लागेको भन्दै उनले जिल्ला प्रशासन कार्यालय मोरङमा हारगुहार गरेकी छिन् । विराटनगर–५ का सुकदेव रायले १५ प्रतिशत व्याज दिने भनेपछि साउनदेखि ६० लाख रुपैयाँ बचत गरेको थिए । उनकी श्रीमतीको पनि सोही सहकारीमा चार लाख रुपैयाँ बचत छ ।

रायले जग्गा विक्री गरेर जम्मा गरको पैसा सहकारीमा बचत गरेको बताए । यसरी नै बचत गरेको १ अर्ब ४५ करोड रुपैयाँ उक्त सहकारीको निक्षेप जोखिममा परेको छ ।‘जुन सहकारीले उत्पादन र बजारीकरणको क्षेत्रमा पैसा लगानी गरे । कोरोनाको कारण व्यवसाय ठप्प भयो । त्यसकारण भुक्तानी गर्न सकेन,’ जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले भने ।

प्रदेश १ सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्रालय सहकारी शाखाका अधिकृत तोया तिम्सिनाले तुलसी सहकारीको संचालक समितिले बचतकर्ताको पैसा फिर्ता गर्नुपर्ने बताए । ‘समितिले बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ । हामीले यस विषयमा मन्त्रीसँग पनि छलफल गरेका छौं । यस विषयमा छानविन गरेर कारबाही प्रक्रिया अगाडि बढाउन मन्त्रालयको तर्फबाट पनि विभागलाई जानकारी गराइएको छ,’ उनले भने ।

विराटनगरका एक प्रतिष्ठित चार्टड एकाउन्टेनले दिएको जानकारी अनुसार तुलसी बहुमुखी सहकारीको झण्डै ८५ करोड रुपैयाँ जोखिममा रहेको छ । अघिल्लो आर्थिक वर्षको लेखा परीक्षक प्रतिवेदन अध्ययन गर्दा ४७ करोड बराबरको विक्रीमा ४० करोड रकम उठ्न बाँकी देखाइएको छ र जिन्सी मौज्दात भनेर झण्डै ४० करोड देखाएको पाइएको उनको भनाइ छ । यस्तै अन्य शीर्षकमा ५ करोड भनेर देखाएकोले ८५ करोड रकम फसेको अनुमान गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया