धनपालथान गाँउपालिकामा हातिपाइले रोग सम्बन्धी योजना तर्जुमा कार्यक्रम सम्पन्न

Aadil Times 1+ समाचार ( )
२७ माघ २०७९

हातिपाइले रोग बिरुद्ध औषधि सेवन अभियान अन्तर्गत मोरङको धनपालथान गाँउपालिकामा एक दिने गाउँपालिका स्तरिय योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम धनपालथानको गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको थियो । धनपालथान गाँउपालिकाको अध्यक्ष जिवच्छ प्रसाद गच्छदारको सभापत्तित्वमा कार्यक्रम भएको थियो । कार्यक्रमम वडाध्यक्ष साथै स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

हातिपाइले रोगको बारेमा बिभिन्न जानकारी कार्यक्रममा गराईएको थियो । कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने , सबैलाई औषधी सेवन कसरी गर्ने, हातिपाइले को औषधी सेवनले पार्ने सामान्य असरहरुको बारेमा सहभागीहरुलाई जानकारी गराईएको स्वस्थ्य शाखा संयोजक रिसि राज सेठले बताए । 

हात्तिपाइले रोगका बारेमा फैलिएका बिभिन्न नकरात्मक भ्रम चिर्न शिक्षक बिद्यार्थि ,समाजसेवी, बिभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुको महत्वपुर्ण भूमिका हुने भएकाले यो कार्यक्रम गरिएको स्वास्थ्य शाखाले जनाएको छ । क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट मानव शरिरको लिम्फ्याटिक प्रणालीमा असर गरेपछि त्यहाँ अस्वभाबिक बृद्धि हुनु नै हात्तिपाइले रोग लाग्नु हो। यो रोग लागेको ६ देखि १० बर्षपछि मात्रै शरीरको बाहिरी भागमा देखापर्ने भएकाले रोग लाग्नु अघिनै औषधी सेवन गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।

२ बर्ष मुनीका बालबालिका , गर्भवती एवं सात दिनभित्रका सुत्केरी, सिकिस्त बिरामी, क्यान्सर, मुटुरोगी, कलेजोका रोगी, मिर्गौला रोगी, फोक्सोका दीर्घरोगी, छारे रोग लागेका बिरामी र कडाखाले कुपोषणका रोगी बाहेक सबैले हात्तिपाईले निवारणको औषधी सेवन गर्नुपर्ने हात्तिपाइले रोग निवारण कार्यक्रममा उल्लेख गरिएको छ ।

औषधी सेवन गर्दा शरीरमा हात्तिपाईलेको जिवाणु भएकालाई सामान्य पेट दुख्ने, वाकवाक लाग्ने, टाउको दुख्ने, शरीर दुख्ने, पखला लाग्ने, अल्छी लाग्ने लगायतका सामान्य असर देखिए पनि एक दिनभित्रै यस्ता असर आफै हराएर जाने शाखाले जनाएको छ ।

यहि फागुन ११ गते देखी धनपालको हरेक घर—घरमा गई स्वास्थ्यकर्मीहरुले औषधि खुवाउने अभियान संचालनमा आउने छ । 

धनपालथानमा ४७ हजार सात सय एकान्नब्बे जनसंख्या मध्ये करिब ४२ हजार गाँउवासीलाई औषधि दिइने सेठले बताए । यस्का लागी ४५ जना महिला संवयसेविका र ५० जना स्वास्थ्यकर्मी खटिने पालिकाले जनाएको छ । 


प्रतिक्रिया