प्रदेश नाम खारेजी मागसहित विराटनगर केन्द्रीत आन्दोलन गर्ने चेतावनी

Aadil Times 1+ समाचार ( )
२ वैशाख २०८०

कोशी नाम खारेजीको माग प्रदेश सरकार र प्रदेश सभाले वैशाख १० गतेभित्र सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

माग पूरा नभए वैशाख ११ गतेदेखि १४ गते सम्म विराटनगर केन्द्रीत आन्दोलन गर्ने घोषणा पहिचानवादी संगठनले गरेका हुन् ।

प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको बैठकको उक्त निर्णय गरेको हो ।

बैठकमा सहभागी प्रमुख घटक सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले भर्चुअल बैठकले उक्त निर्णय गरेको बताए ।

सङ्घर्ष समितिले प्रदेश सरकार र प्रदेश सभालाई वैशाख १० सम्मको अल्टिमेटम दिएको छ । उक्त अल्टिमेटमका सन्दर्भमा पुनः स्मरण पत्र दिने जनाइएको छ । त्यसपछि पनि सुनुवाइ नभए आन्दोलन गर्ने निर्णय गरिएको हो ।

वैशाख १० सम्म जिल्लाहरूमा क्षेत्रीय आमसभा गर्ने त्यस अवधिमा पनि आन्दोलनलाई सम्बोधन नगरिए वैशाख ११ देखि १४ सम्म विराटनगर केन्द्रित आन्दोलन गर्ने निर्णय भएको नेताहरुले बताएका छन् ।

इजमलका अनुसार बैठकले सहिद पदम लिम्बु लाजेहाङको शवलाई वैशाख १५ गते भित्र ससम्मान अन्त्येष्टि गर्ने निर्णय पनि गरेको छ ।

त्यसअघि विराटनगर केन्द्रीत दबाब आन्दोलन सशक्त बनाउने कार्यक्रम तर्जुमा गरिने बताइएको छ ।

आन्दोलनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन ‘पहिचानको लागि युवाः यूथ फर आइडेन्टिटी’ नामक युवा समूह गठन र परिचालनलाई तीव्रता दिने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया