विराटनगर विमानस्थलमा तोडफोड

Aadil Times 1+ समाचार ( )
१२ मंगशिर २०७९

जहाज ढिलो आएको भन्दै आक्रोशित बनेका यात्रुले सोमबार राति विराटनगर विमानस्थलमा तोडफोड गरेका छन् ।

विमानस्थलका अनुसार श्री एयरलाइन्सको जहाजमार्फत काठमाडौं जानलाई तयारी अवस्थामा रहेका यात्रु होहल्ला गर्दै तोडफोडमा उत्रिएका हुन् । ७६ जना यात्रु जहाजको प्रतीक्षामा थिए । साँझ ७ः३० बजेको उडान समय दिइएको थियो ।

तर जहाज ८ः४५ बजेतिर मात्रै आइपुग्यो । अवतरण गर्नेवित्तिकै खराबी आएको भनेर उक्त जहाज विराटनगर विमानस्थलमै रोकियो । यात्रु लिन आएको जहाज काठमाडौं फर्कन नसक्ने भनेर माइकिङमार्फत अर्को जहाज आउँदै गरेको जानकारी गराइयो ।

अर्को जहाज आइपुग्न केही समय लागेपछि गन्तव्यमा पुग्न ढिलो भएको भन्दै आक्रोशित बनेका यात्रु तोडफोडमा उत्रिएको विमानस्थल प्रमुख रेन्जी शेर्पाले जानकारी दिए । उनका अनुसार राति ९ः३० बजेतिर यात्रुले तोडफोड गर्दा प्रस्थान कक्षको सिसा फुटेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । काठमाडौंबाट केहीबेरमै आइपुगेको अर्को जहाजले यात्रु लिएर गएपछि अवस्था साम्य भएको शेर्पाको भनाइ छ । उनका अनुसार काठमाडौंको मौसम ढिलो खुलेकाले सोमबार बिहानैदेखि उडानमा ढिलाइ भइरहेको थियो ।

उडान डिले हुँदा यात्रुले समयमै गन्तव्यमा पुग्न पाएनन् । ‘मौसमका कारण उडानमा बिहानैदेखि ढिलाइ भइरहेको थियो । पछि यात्रु लिन आएको जहाजमा पनि समस्या देखियो,’ शेर्पाले भने, ‘त्यसपछि आक्रोशित बनेका यात्रु तोडफोडमा उत्रिए । तोडफोडबाट विमानस्थलमा सामान्य क्षति पुगेको छ ।’


प्रतिक्रिया