गठबन्धन भित्र कांग्रेसले माग्यो ८ वटा मन्त्रालय

Aadil Times 1+ समाचार ( )
११ चैत्र २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गठबन्धन दलमा मन्त्रालय भागबन्डाको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् ।

पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त प्रचण्डले कांग्रेस सँगको पुरानो गठबन्धन ब्युँताएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

नेकपा माओवादी केन्द्रको शनिबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले आज मन्त्रालय भागबन्डाको प्रस्ताव पेश गर्ने जानकारी दिएका हुन् ।

प्रचण्डले आफ्नो प्रस्तावमा गठबन्धन सहमत हुने र सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

दश दलीय गठबन्धनका शीर्ष नेताहरूले नै प्रचण्डलाई छुट्टाछुट्टै भेटेर प्रस्ताव गर्न भनेकाले केही दिन लम्बिएको पौडेलको भनाई छ ।

सरकारमा सहभागी हुन नेपाली कांग्रेसले ८ वटा मन्त्रालय दाबी गर्ने भएको छ । शनिबार दिउँसो सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारी बैठकमा यसबारे ब्रिफिङ गरिएको हो ।

उपसभापति पूर्णबहादुर खड्काले नयाँ मन्त्रिपरिषद्मा कांग्रेसको तर्फबाट ८ वटा मन्त्रालय दाबी रहेको जानकारी गराएका थिए । कांग्रेस बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि ब्रिफिङ गरिएको थियो ।

गठबन्धनभित्र कांग्रेसले ७ वटामात्र मन्त्रालय पाउने बताएपनि आफूहरूको दाबी ८ वटै मन्त्रालयमा रहने खडकाले बताए ।

प्रतिक्रिया