नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री अहिले एक्लै बस्न सक्ने अवस्था नरहेको बताएका छन्। सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेजस्तो मानिसहरूमा निराशा आफूले अहिलेसम्म नदेखेको बताए।
>
उनले भने, ‘कोही पनि यहाँ राम्रो हुन्छ भन्ने विश्वासमा छैनन्। २०६० सालको भन्दा स्थिति अहिले धेरै राम्रो होला । तर, तथ्यांकले ठिक छ कि छैन भन्ने हुँदो रहेनछ। मान्छेले के अनुभूति गरिरहेको छ भन्नेले हुने रहेछ।
>
हामी सबैलाई खराब भइरहेको लागिरहेको छ भने सम्हाले कसरी हो , यहाँ राजनीतिक दल र सामुदायिक रेडियो एक ठाउँमा आएर एक ठाउँमा काम गर्नुपर्छ।’
>
उनले प्रधानमन्त्रीले अहिले आफ्नो वरिपरि भोट मात्रै हेरेर बसे पछि आफ्नो कुरा सुन्ने बाँकी कोही नरहने बताए। उनले भने ‘अहिले म साँच्चिकै डराएको छु। मैले प्रधानमन्त्रीलाई पटक पटक भन्ने गरेको छु। नागरिकलाई नतर्साउनुस्। तर, प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने अवस्था आएको छ।
>
एक्लै बिहान बेलुका एक्लै बस्दा खेरी। म आग्रह गर्न चाहन्छु कम्तीमा दिनमा आधा घण्टा समय निकाल्नुस्। भेटघाट बन्द गर्नुस् र एक पटक सोच्नुस्। आफूसँग भएको एक एक सेकेन्डको कसरी प्रयोग गर्ने भनेर डराउनुस्’ उनले भने, ‘कुर्सीमा बसेको प्रधानमन्त्री यति बेला डराउनुपर्छ।
>
प्रधानमन्त्री डरायो भने मात्रै नागरिक डरबाट मुक्त हुने अवस्था आउँछ। प्रधानमन्त्रीले बायाँ हेर्यो भोट दायाँ हेर्यो भोट मसँग त १७२ भोट छ भनेर ढुक्क भएर बस्नुभयो भने टाउको टाउकोले मञ्च भरिन्छ तर, भुईँमा सुन्ने मान्छे बाँकी नरहन सक्छ।’
>
>>