उपप्रधानमन्त्री लामिछाने भन्छन-उद्योगी व्यवसायीहरूलाई सरकार रातो कार्पेटले स्वागत गर्छ

Aadil Times 1+ समाचार ( )
२० पौष २०७९

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको छलफलमा लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरूलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताए ।

उनले उद्योग व्यवसायको सुरक्षाका लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनै पनि काममा नचुक्ने प्रतिबद्धतासमेत जनाए । लामिछानेले सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायीहरू साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने पनि बताए ।

उनले उद्योगी व्यवसायीहरूले आफ्नो व्यापार वृद्धि गरी मुलुकको राजस्व वृद्धिमा ध्यान दिनुपर्ने आग्रह गरे । उनले उद्योगी व्यवसायीहरूले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरूलाई भेटेर समय खेर फाल्नु नपर्ने बताए । उनले सरकारको नीतिगत विषयमा समस्या आए व्यवसायीहरूले सल्लाह सुझाव दिन आग्रह गरे ।

उपप्रधानमन्त्री लामिछानेले कालो बजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेका भन्दै कोलोबजारी गर्नु गृह मन्त्रालयका लागि चुनौतीको विषय भएको बताए ।

उनले कालोबजारी, चोरी पैठारी नियन्त्रण गर्ने विषय मन्त्रालयको प्रमुख प्राथमिकतामा पर्ने बताए । उनले कालोबजारी तथा कानून विपरितका काममा कुनैपनि राजनीतिक दबाब आए कारबाही गर्ने चेतावनी दिए ।

प्रतिक्रिया