कटहरी गाउँपालिका १ मा वडा कार्यालयको भवन निर्माण शुरु

Aadil Times 1+ समाचार ( )
२३ मंगशिर २०७९

कटहरी गाउँपालिका वडानम्बर १ वडा कार्यालयको सुविधा सम्पन्न भवन निर्माण शुरु भएको छ । 

७२ लाख बढीमा निर्माण हुन लागेको भवनको शुक्रबार शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष देवराज चौधरी र कटहरी १ का वडाध्यक्ष हरिनारायण राजवंशीले भवनको शिलान्यास गर्नुभयो । यस अघिदेखी महेशपुरमा रहेको गणेश प्राथमिक विद्यालय परिसरमा वडा कार्यालय संचालन हुँदै आएको थियो । गणेश प्राविको नाममा रहेको सोहि जग्गामा नयाँ भवन निर्माण हुन लागेको हो । 

एक कट्ठा जग्गामा निर्माण हुन लागेको भवनको ठेक्का विराटनगर ८ को टोनिका कन्सट्रक्सनले पाएको छ । भवन निर्माणको स्टिमेट रकम १ करोड १८ लाख रहेपनि निर्माण कम्पनीले ३७.११ प्रतिशत बिलो ७२ लाख २० हजार ३ सय ८६ रुपैयामा निर्माणको ठेक्का लिएको छ । २१ सय स्क्वायर फिटको सो भवनमा ३ कोठा १ हल र शौचालय कोठा निर्माण हुने जनाईएको छ । 

मंसिर १५ गते योजना शुरु भएर २०८० जेठ १५ अर्थात ७ महिना भित्र भवनको निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता रहेको कटहरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोहिणी आचार्यले जानकारी दिनुभयो । भवन निर्माणका निम्ति गाउँपालिकाले नै बजेट बिनियोजना गरेको उहाँले जानकारी दिनुभयो । भवन शिलान्यास कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष चौधरीले कटहरीमा रहेका ७ वडा मध्ये वडानम्बर १ र ६ बाहेक सबै वडाहरुको आफ्नै भवन निर्माण भईसकेको बताउनुभयो । 

वडानम्बर १ मा छिट्टै भवन निर्माण सम्पन्न हुने र ६ नम्बर वडा कार्यालयका लागि जग्गा प्राप्तिको प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । वडानम्बर १ का वडाध्यक्ष राजवंशीले नयाँ कार्यालय भवन निर्माण भएपछि कर्मचारीलाई सेवा प्रवाहगर्न सेवाग्राहीलाई सेवा लिन सहज हुने बताउनुभयो ।

प्रतिक्रिया