उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

Aadil Times 1+ समाचार ( )
२५ माघ २०७९

सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिहीबार बस्दैछ । सत्ता साझेदार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको हो ।

अध्यक्ष ओली निवास बालकोटमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच भएको भेटवार्तामा संयन्त्रको बैठक बोलाउन दुवै नेता सहमत भएका थिए ।

दुई महिना नपुग्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिएपछि सत्तारुढ दलमा खटपट भइरहेका बेला बैठक बस्न लागेको हो ।

बैठकमा सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने संयन्त्रको बैठकमा एमालेसहित नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत सत्ता साझेदारका प्रतिनिधि नेताहरू सहभागी हुनेछन् ।

प्रतिक्रिया