नेपालद्वारा यूएईसामु १९२ रनको चुनौती प्रस्तुत

Aadil Times 1+ समाचार ( )
१८ फाल्गुन २०७९

आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपालले घरेलु टिम यूएईसामु १९२ रनको सामान्य चुनौती पेस गरेको छ ।

टस हारेसँगै ब्याटिङ गरेको नेपालले खराब सुरुवात गर्दै ४८.५ ओभरमा सबै विकेटको क्षतिमा १९१ रन बनाएपछि यूएईले सामान्य चुनौती पाएको हो । नेपालले १९ रन हुँदा तेस्रो विकेट गुमाइसकेको थियो ।

नेपालका ओपनर दिपक बोहरा शून्यमा पहिलो बलमै आउट भए । त्यसपछि ९ रन हुँदा अर्जुन कुमाल व्यक्तिगत तीन रन बनाएर आउट भए । तेस्रो विकेटका रूपमा आकाश त्रिपाठी ९ रनमा पभिलियन फर्किएपछि नेपाल दबाबमा आएको थियो ।

तर, कप्तान देव खनाल र उत्तम थापा मगरले ८४ रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए । कप्तान देव ५१ रनमा आउट भए ।

त्यस्तै, विशाल विक्रम केसीले ३८, उत्तम थापा मगरले ३६, दिपेश कँडेलले १५, हेमन्त धामीले १३ र मिलन बोहराले १० रन बनाए । बलिङतर्फ यूएईका ध्रुव परसारले तीन, हरित हरिश शेटी र आयन अफ्जल खानले समान २-२ विकेट लिए ।

प्रतिक्रिया