एक हप्तापछि खुल्यो बेनी-दरबाङ सडक

Aadil Times 1+ समाचार ( )
एक हप्तापछि खुल्यो बेनी-दरबाङ सडक
२९ श्रावण २०७९

म्याग्दीका तीन वटा पालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरबाङ सडक एक हप्तापछि खुलेको छ ।

मङ्गला र मालिका गाउँपालिकाको सीमानामा रहेको दुस्खु खोलाको पुलमा पर्खाल बगाएर जोखिम भएपछि आवतजावत बन्द गरिएको थियो । बेनी–दरबाङ सडक मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । सडक विभागका अनुसार वर्षाका कारण देशभरी अझै पनि ३ वटा मुख्य सडक पूर्ण र १२ वटा आंशिक रुपमा बन्द भएका छन्।

कर्णाली राजमार्ग, साँफेबगर–मार्तडी–कोल्टी सडक र बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रुबेसी सडकका विभिन्न खण्ड बन्द छन् । बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रुबेसी सडक रसुवाको बनुवामा अवरुद्ध भएकोमा वैकल्पिक सडक खुलाएर साना गाडी जाने व्यवस्था मिलाइएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।

कोशी राजमार्ग, पृथ्वी, त्रिभुवन राजमार्ग, डुम्रे–बेसीसहर–चामे सडक, कर्णाली राजमार्ग र पुष्पलाल मध्यपहाडी राजमार्गको विभिन्न खण्ड बाढी र पहिरोका कारण अवरुद्ध बनेकामा आंशिक रुपमा खुलाइएको सडक विभागले जनाएको छ ।

प्रतिक्रिया