सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभास्थलनजिकै बम विष्फोट

Aadil Times 1+ समाचार ( )
सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विस्फोट...
३० कार्तिक २०७९

भोजपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभास्थलनजिकै बम विष्फोट भएको छ । विष्फोटमा परेर नेकपा (विप्लव) समूहका एक जना कार्यकर्ता घाइते भएका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने भनिएको सभास्थलनजिकै बुधबार दिउँँसो २ः१० बजेतिर विष्फोट भएको हो । प्रचण्ड उक्त सभामा भने पुगिसकेका थिएनन् ।

भोजपुर प्रहरी प्रमुख डीएसपी शरदकुमार थापाका अनुसार पौवादुङमा गाउँपालिका–२ स्थित तिवारी भञ्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको थियो । सभास्थलबाट लगभग २ सय मिटरनजिक रहेको हाम्रो वान्तवा होटलअगाडि विष्फोट भएको थापाले बताए ।

विस्फोटमा परेर ‘विप्लव’ समूहका जनपत्रकार संगठनका सदस्य अरुण गाउँपालिका–४ चरम्बीका अन्दाजी ३६ वर्षीय सुमन श्रेष्ठ घाइते भएका छन् । उनको बायाँ खुट्टामा चोट लागेको छ । घाइतेलाई नियन्त्रणमा लिएर उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

श्रेष्ठले पछाडि भिर्ने झोलामा बोकेको ‘टिफिन बम’ एक्कासि विष्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगामी निर्वाचन बहिष्कार गर्दै ‘विप्लव’ समूहले चुनाव खारेजीको माग गरिरहेको छ ।

विष्फोटलगत्तै सभास्थल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सभामा आउनेहरुमाथि प्रहरीले निगरानी बढाउँदै खानतलासी गरिरहेको छ । डीएसपी थापाले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

प्रतिक्रिया