विराटनगरका मुख्य सडकमा गरिने पार्किङ हटाएको विरुद्धमा साना तथा खुद्रा व्यापारीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सोमबार आफ्नो पसलको सटर बन्द गराएर आन्दोलनमा उत्रिएका हुन् ।>
खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलले महानगरपालिकाले विकल्प नदिइ पार्किङ हटाएको कारण विरोध गरेको बताए । ‘अल्पकालिन ढंगले बनाइएका पार्किङमा पनि अनावश्यक शुल्क लिने गरिएको छ, व्यवस्थित भएको छैन,’ उनले भने, ‘विस्तारै गर्नुपर्नेमा सबैतिर एकै पटक सडकका पार्किङ हटाउने निर्णय महानगरले गरेपछि हामी समस्यामा पर्यौं ।’
>
महानगरपालिकाले विराटनगरका विभिन्न स्थानमा पार्किङको व्यवस्थापन गरेको छ । तर, ति पार्किङमा घण्टाको आधारमा पार्किङ शुल्क लिने गरेको छ । अर्को स्थानमा गएर पार्किङ गर्दा पनि पुनः शुल्क लिने गरेको मण्डल बताउँछन् ।
>
महानगरपालिकाका प्रमुख नागेश कोइरालालाई भेटेर विकल्प दिएर मात्रै पार्किङ हटाउन अनुरोध गर्ने नमानेको खण्डमा छलफलपछि आन्दोलनका कार्यक्रम गरिने मण्डलले बताए ।
>
मेनरोडमा रहेको जानकी फेन्सी स्टोरका संचालक सुनिलकुमार रजकले महानगरले आफ्नो समस्या बुझिदिनुपर्ने बताए । ‘पार्किङ नहुँदा बोनीबट्टा पनि हुन छोड्यो । वान वे गरिदियोस् । वान वे पनि खोलिदिएको छ । पार्किङ पनि हटाइदिएको छ यसरी त व्यापार चलल्ने देखियो,’ उनले भने ।
>
महानगरले पहिलो चरणमा जलजलाचौकदेखि अस्पताल चौकसम्मको सडकलाई पार्किङ निषेधित गरेको थियो । यसका लागि पुरानो जलजला हल उत्तरतर्फ र ग्रिनक्रस अस्पताल पछाडिको खाली जग्गालाई पार्किङस्थल घोषणा गरेको छ ।
>
यसैगरी महानगरपालिकाले शनिमन्दिर–जलजलाचोक, शनिमन्दिरदेखि महावीर रोडसम्मको क्षेत्रलाई पनि पार्किङ निषेधित घोषणा गरेको छ । यसका लागि महावीर रोडमा चार कठ्ठा जग्गा पार्किङस्थलको रूपमा तोकेको छ ।
>
अर्को पार्किङ निषेधित क्षेत्रको रुपमा महावीर रोडदेखि गुद्रीसम्मलाई विस्तार गर्ने योजना राखिएको छ । यसका लागि पुरानो गुद्री बजारको इप्लटलाई पार्किङस्थल तोकिएको छ । यसैगरी हनुमान मन्दिरदेखि जलजला चौकसम्मको दुरीलाई समेत नो पार्किङ जोन घोषणा गरेर पुरानो गुद्रीको एप्लटलाई पार्किङस्थलको रुपमा प्रयोग गरिँदै आएको छ । हनुमान मन्दिर–जलजला चौकसम्म केहिवर्ष अगाडि नै नो पार्किङ जोन घोषणा गरिएको थियो ।>>