विराटनगरमा छठ पर्वको तयारी ;;

Aadil Times 1+ समाचार ( )
छठ पर्व सुरु
१२ कार्तिक २०७९


                     नेपालीहरुको दुई ठूला चाड दसैं र तिहार सकिएसँगै अहिले अर्को महत्वपूर्ण पर्व छठको चटारो सुरु भइसकेको छ । अहिले विराटनगर बजारमा छठ पर्वका लागि आवश्यक सामाग्री किन्नेहरुको भिड बढेको छ ।

खास गरी तराई मधेसका जिल्लाहरुमा छठ पर्व धुमधामका साथ मनाउने गरिन्छ । छठ पर्व सुरु भएसँगै भक्तजनहरु छठ पूजाको तयारीमा जुटेका छन् ।

विपन्नदेखि सम्पन्नहरु समेत आ–आफ्नो गच्छे अनुसार छठ पर्वका लािग किनमेलमा व्यस्त छन् । अहिले विराटनगर बजारमा समेत छठको किनमेल गर्नेहरुको निकै भीड लागेको छ ।

यतिबेला बजारमा छठका लागि आवश्यक सामाग्रीहरु कोनिया, ढाकी, केरा, नरिवल, भोगटे, माटाका घैला, पाला लगायतका सामाग्री किन्नेहरुको भीड देखिन्छ ।

यता सर्वसाधारणले भने यी सामाग्रीहरुको विक्रि बढेसँगै मूल्य समेत बढेको गुनासो गरेका छन् । यस्तै छठमा माटाबाट बनाइएका सामाग्रीहरुको समेत विक्रि बढ्ने गरेको छ । छठमा खासगरी माटाको घैंटो, दीप, ढकना, हात्ती, सरवा लगायतका समाग्रीको किनबेच हुने गर्दछ ।

तर यी सामाग्रीको समेत मूल्य निकै बढेको छ । यसबर्ष सिमित मात्रामा छठका सामाग्री भएकाले मूल्य बढेको व्यापारीहरुको भनाई छ ।यतिबेला विराटनगरका बजारहरु छठका सामाग्रीले भरिभराउ भएका छन् ।यतिवेला छठ पर्वकै लागि प्रयोग गरिने विभिन्न फलफुलको समेत विक्रि बढेको छ । छठमा प्रसादका रुपमा प्रयोगहुने भोगटे( होक्से)केराको घारी, नरिवल, उखु, वेसार, अदुवालगायतका फलफुलको समेत विक्रि बढेको छ ।अन्य समयमा भन्दा छठमा पुजाका लागि ति सामाग्रीको खपत हुने भएकाले व्यपारीहरुले ति सामाग्रीहरुको मुल्य आफुखुशि बृद्धि गरेका छन् । अन्य समय भन्दा ३ गुढाा भन्दा बढी मुल्य पर्ने गरेको श्रद्धालु भक्त जनहरुले गुनासो गरेका छन् ।

विराटनगरको गुद्री बजार छेउको सडकमा ब्यापारीहरुले पसल थापेर छठका सामाग्री विक्रि गर्ने गरेका छन् । छठ पर्वमा खासगरी गाउँघरमा उत्पादित सामाग्रीबाटै निर्माण गरिएका सामाग्रीहरुको प्रयोग गर्ने गरिएको छ । जसका कारण छठ पर्वले सँस्कृति संरक्षणका साथै ग्रामिण भेगका जनताको अर्थोपार्जनलाई समेत सघाइरहेको छ ।

सुर्य भगवान( छठि माता )को उपसना गरेर मनाइने यो पर्व खोला, नदी, पोखरी तथा जलाशयहरुमा गएर पुजा आराधना गरिने भएकाले जालाशयहरुमा ठाउँ छानेर सरसफाई गर्ने र र सजाउने क्रम बढेको छ ।

वर्षदिनभरी फोहरमैलाले दुर्गन्धीत नदीनाला तथा जलाशयहरुमा घाट निर्माण गर्नका लागि सरसफाई गरि घाट सजाउन गरिएको छ । छठ पर्वको मुख्य दिनका लागि घाटलाई बेहुलीझैँ सिंगारिने र पुजा आराधना गरिने भएकाले सरसफाई गरेर शुद्ध पारिने गरिन्छ ।

यतिबेला छठ पूजा गर्न श्रद्धालु भक्तजनहरु विराटनगरको सिंघीया, केशलीया खोला र सुनसरी–मोरङ सिँचाई आयोजनाको नहर सरफाई गर्न जुटेका छन् । उनीहरुले सरसफाई गर्दै घाट सफा गर्न निकै व्यस्त देखिन्छन् ।

शुक्रबारदेखि छठ पर्व सुरु भएको छ । बर्तालुले आज ‘नहाय–खाय’ विधि गर्दै छठको शुभारम्भ भएको हो । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ ।

कात्तिक शुक्ल त्रितीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व सुरु गर्ने चलन छ ।

यसपालि तिथिको घटबढले आज तृतीया र चौथी तिथि दुवैको भोग पर्नाले मिथिलाको लोकपर्व छठ शुक्रबार सुरु भएको हो । निरामिष (सात्विक) भोजन सुरु गरेर व्रत विधि सुरु हुने परम्परा छ ।यतिबेला छठले गर्दा जताततै सूर्यदेव र षष्ठी (छठी )देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । यसअघिका दुई वर्ष कोराना कोभिड–९० सङ्क्रमण सन्त्रासले धक खोलेर पर्व मनाउन नपाइएको सम्झँदै यसपालि भने सहजरुपमा पर्व मनाउन सहज भएको बर्तालु बताउँछन् ।पर्वमा महिला–पुरुष जसले व्रत गरे पनि हुने विधान  (शास्त्रीय मत)  भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको देखिन्छ । पर्व सुरु भएको मानिने आज कार्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन् ।

यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको हो । पर्वले घर–घरमा व्यस्तता बढाएको छ । पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै केन्द्रित देखिँदा छन् ।

श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा ९गहुँको पिठो र सक्खर मिसाएर शुद्ध घिउ घ्यू मा बनाइने खास परिकार, भुसुवा (कसार )र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ ।

यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को( पातगुवो ) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् ।


प्रतिक्रिया