जीवन घिमिरेले के काम गरे सो को फेहरिस्त देखाउन भिम पराजुलीको चुनौति

Aadil Times 1+ समाचार ( )
विराटनगर–३ का मतदातासंग अन्र्तक्रिया गर्दै शेरधन राई नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री रहेका...
११ कार्तिक २०७९

विराटनगर महानगरपालिकाका निवर्तमान मेयर एवं क्षेत्र नं. ४ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भीम पराजुलीले मन्त्री हुँदा जीवन घिमिरेले के काम गरे सो को फेहरिस्त देखाउन ठाडो चुनौती दिएका छन् ।

प्रदेश निर्वाचन क्षेत्र नं. (ख) बाट सत्ताघटक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका पराजुली उम्मेदवार छन् भने नेकपा एमाले–जनता समाजवादी नेपालकोतर्फबाट पूर्वसामाजिक विकास मन्त्री घिमिरेले उम्मेदवारी दिएका छन् ।

विराटनगरमा मंगलबार विराटनगर–३ का मतदातासंग अन्र्तक्रिया गर्दै शेरधन राई नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री रहेका जीवन घिमिरेले प्रदेश र प्रदेशवासीको लागि कुनै ठोस काम नगरेको किटान गरे । उनले आफूले मेयरका रूपमा थुप्रै उदाहरणीय काम गरेको र आफूले गरेको काम जनताको आँखामा बसेको बताए । पराजुलीले भने, ‘सभासद् र मन्त्रीका रूपमा घिमिरेले प्रदेश र प्रदेशवासीको पक्षमा खासै कुनै काम गर्न सकेनन् । बरू दुई वटा आलिसान घर जोडे अनि आफू राज्यको पैसामा सुविधा सम्पन्न क्वाटरमा बसे ।’

उनले विराटनगर महानगरपालिकाले सहिद मैदानमा फ्लड लाइट जडानको निर्माणको जिम्मा लिन लाग्दा सामाजिक विकास मन्त्रालयले अड्को थापेको स्मरण गरे । तत्कालिन सामाजिक विकास मन्त्री घिमिरेले एक संरचना निर्माणका लागि आफ्ना आसपासे र नातेदारलाई उपभोक्ता समितिमा संलग्न गराउँदा तत्कालिन मुख्यमन्त्री शेरधन राईले अपारदर्शी भन्दै काम रोक्न लगाएको कसैसंग नछिपेको बताए । नागरिक केयर सेन्टरको फोटो सामाजिक सञ्जालमा राखेर पूर्वमन्त्री घिमिरेले जनतामाझ भ्रम छर्न खोजेको भन्दै आफूहरूको नेतृत्वमा र उद्योगी व्यवसायीसहित विभिन्न संघ संस्थाको सहयोगमा २८ दिनमा १०२ बेडको सेन्टर प्रदेश सरकारलाई हस्तान्तरण गरेको दावी गरे । उम्मेदवार पराजुलीले राजनीतिमा नैतिक इमान्दारिता हराउँदै गएको भन्दै आपूmले मौलाउँदै गएको भ्रष्टिकरणका विरूद्धमा सशक्त आवाज बुलन्द गर्न प्रदेश सभामा उम्मेदवारी दिएको बताए ।

उनले आफू मेयर छँदा अनियमितता गर्ने राजस्वका दुई कर्मचारीलाई कारवाही गरेको निर्माण व्यवसायमा संलग्न ५ व्यक्तिलाई थुन्नु परेको बताए । मेयर पराजुलीले आफूले मेयरको जिम्मेवारी सम्हालेपछि महानगरपालिकाबाट एकै पैसा पनि तलब सुविधा वापत नलिएको भन्दै कसैले एकै रूपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाणित गरिदिए प्रदेशसभा सदस्य पदको उम्मेदवारी फिर्ता लिने बताए । राजनीति व्यक्तिगत स्वार्थमा लेपिएकोले विकास प्रभावित बन्ने गरेको पराजुलीको धारणा थियो । उनले आफ्नो मानिस ठाउँमा नभए सम्बन्धित क्षेत्रको विकास प्राथमिकतामा पर्दै नपर्ने अवस्था आएको बताए । विकासको बाधक आफ्नै सोच, नेतृत्व तहको निकम्मापन भएको बताउँदै अब आफूले क्षेत्र नं। ४ (ख) सहित समग्र प्रदेशको विकासका लागि लड्नु पर्ने समय आएको किटान गरे ।

पराजुलीले प्रदेशमा निजामती ऐन , प्रहरी ऐन हालसम्म पनि बन्न नसकेको बताए । उनले कर्मचारी नियुक्तीमा पनि समस्या रहेको बताए । संघले प्रदेश र स्थानीय तहलाई खासै अधिकार प्रत्यायोजन नगर्दा मुख्यमन्त्री कार्यालयको सचिवको सरूवा कहिले र कहाँ भयो भन्ने कुरा स्वयं मुख्यमन्त्रीलाई थाहा नहुने बताए । संघबाट प्रदेशमा पूर्ण अधिकार प्रत्यायोजनका लागि आफू लडाई लड्ने पराजुलीले संकल्प गरे ।

पराजुलीले प्रदेशमा धुमपान निषेधका लागि पूर्वमन्त्री घिमिरेले पसल–पसलका गुट्खाको खोल समाएर फोटो सेशन गराउनु बाहेकको खासै उपलब्धि नदेखिएको बताए । पराजुलीले राजनीतिलाई पेशा बनाउन नहुने भन्दै आफू पारदर्शी राजनीति हुनुपर्छ भन्ने सिद्धान्तबाट प्रेरित भएको बताए । पराजुलीले आफूले गरेको जे जति आर्जन छ त्यो सबै जीवनको उत्तराद्र्धमा दान दिने बताए ।

प्रतिक्रिया