तुलसी सहकारीमा निक्षेपकर्ताको करोडौं रुपैयाँ जोखिममा

Aadil Times 1+ समाचार ( )
२९ माघ २०७९

अनेकौं बेथितिबाट गुज्रेको सहकारीले आफ्नो सहकारी ऐन र क्षेत्राधिकार भन्दा बाहिर गएर काम गर्दा विराटनगरका ठूला भनिएका सहकारीमा पनि बचतकर्ताको निक्षेप जोखिममा परेको पाइएको छ ।

एकपछि अर्को गर्दै सहकारी क्षेत्रमा जम्मा गरेको निक्षेप जोखिममा परेको घटना सार्वजानिक भइरहँदा विराटनगरको अर्को ठूलो सहकारी संस्थाको पनि निक्षेप जोखिममा परेको घटना बाहिर आएको हो ।

विराटनगर महानगरपालिका–२ स्थित तुलसी बहुमुखी सहकारी संस्थाका संचालकहरू सम्र्पकबिहीन बनेपछि निक्षेपकर्ताको करोडौं रूपैयाँ जोखिममा परेको बचतकर्ताहरुले बताएका छन् । विराटनगर ४ की बिमला भट्टराईले तुलसी सहकारीमा १८ लाख रुपैयाँ मुद्दती खाता खोलेर जम्मा गरेको वर्ष दिन पूरा भइसकेको छ । तर सहकारीले साँवा र ब्याज रकक फिर्ता दिन आलटाल गरेको भट्टराईले बताइन् । ‘मुद्दती खातामा जम्मा गरेको रकमको अवधि पूरा भइसक्दा पनि सहकारीले अहिलेसम्म साँवा र ब्याज भुक्तानी दिन सकेको छैन,’ उनले भनिन्, ‘सहकारी धाएको महिना दिन हुनलागिसक्यो । तर, सहकारीले भाका मात्र दिँदै फर्काइरहेको छ । ’ उनकाअनुसार सहकारीले शुक्रबार रकम दिने बाचा गरेको थियो तर आइतबार पनि भुक्तानी दिएन । ‘सहकारीले भाका दिएको दुई दिन बितिसक्दा पनि बचत गरेको रकम नदिएपछि सहकारी आएका थियौं । यहाँ सहकारीका संचालक र समिति पनि भेट्न पाएनौं । अहिले अध्यक्ष पनि सम्र्पकबिहीन हुनुभएको छ ।’

विराटनगरकी ममता कुमारी साहले पनि तुलसी बहुमुखी सहकारीमा बचत गरेको १८ लाख रुपैयाँ पाउनुपर्ने बताइन् । ‘फिक्स डिपोजिट गरेको वर्ष दिन भयो । अवधि पूरा भएपछि सहकारीमा पैसा लिन आएको हप्तांै बितिसक्यो । अहिलेसम्म दिने छाँटकँट छैन,’ उनले भनिन् ।

दुःख गरेर आर्जेको रकम खाइनखाइ राखेको रकम ढुब्यो भने आफू सडकमा आउने उनले सुनाइन् । ‘आफूसँग भएको रकम सबै यही सहकारीमा बचत गरेको छु,’ उनले भनिन्, ‘आफूले जम्मा गरेको रकम सहकारीले दिएन भने म त सडकमा आउँछु ।’

यसरी तुलसी सहकारीमा निक्षेप जम्मा गर्ने बचतकर्ताहरू आफूले जम्मा गरेको रकम लिन आउनेको भीड लाग्ने गरेको छ । पछिल्लो दश दिनयता बचतकर्ताले रकम लिन जाँदा संस्थाका अध्यक्षसहितका सञ्चालक समिति र कर्मचारी भेटिन छाडेका छन् । सहकारीका अध्यक्ष केदारनाथ शर्मा हुन् । उनी अहिले कार्यालयमा नआउने गरेको त्यहाँका कर्मचारीले बताए । २०७१ सालमा सहकारी स्थापना भएको थियो । बचतकर्तालाई आकर्षक ब्याज दिने भन्दै सहकारीमा जम्मा गरेको रकम दिन आलटाल गरेपछि निक्षेप जोखिममा परेको हो ।

आफ्नो बचत रकम झिक्न आउने सेवाग्राहीलाई बारम्बार झुक्काउने काम भइरहेको छ । सहकारीमा भुक्तानी असन्तुलन भएका कारण यस्तो समस्या आएको सञ्चालकले बताउने गरेका छन् । तर, बचतकर्ताको रकम झिकेर सञ्चालकले मनोमानी व्यक्तिगत खर्च गरेका कारण सहकारीमा समस्या आएको बुझिएको छ ।

तुलसीको उदयपुरस्थित गाईघाटमा रहेको शाखामा समेत केहिदिन अगाडी नै तालाबन्दी भएको छ ।सहकारीले टाँसेको सूचनामा भने हाल विश्वव्यापी रुपमा भइरहेको आर्थिक मन्दीको प्रभाव परेको उल्लेख छ । लगानी गरेको रकम फिर्ता नआउँदा समस्या परेको उल्लेख गरिएपनि सञ्चालक सम्पर्कमा नआउँदा र बचतकर्तासामु सहकारीको अवस्था सार्वजानिक नगर्दा समस्या देखिएको हो ।

सहकारीका मेनेजर सिताराम अधिकारीले बचतकार्ताको सम्पूर्ण रकम फिर्ता दिने बताए । ‘अहिले तरलताको कारणले समस्या आएको हो,’ उनले भने, ‘जम्मा गरेको बचतकर्ताहरुको रकम क्रमश फिर्ता दिनेछौं । हामीलाई केही समय लाग्छ । तरला अभावको कारणले समस्या आएको हो । यो समस्या समाधान गर्नेतर्फ सहकारीका संचालकहरु लागिपरेका छौं । बिस्तारै सबैको पैसा फिर्ता हुनेछ ।

प्रतिक्रिया