विपन्नको स्वास्थ्य बीमा गरिदिँदै इटहरी

Aadil Times 1+ समाचार ( )
१७ फाल्गुन २०७९

इटहरी उपमहानगरपालिकाले नगरका २ हजार अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । उपमहानगरले अति विपन्न परिवारलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने भएको हो ।

अहिले वडाको ९० जना अति विपन्न परिवारको तथ्याङ्क संकलन गरि बीमा कार्यक्रम सुरु गरिएको हो । साधारण स्वास्थ्य समस्याको उपचारमा समेत पहुँच नभएका अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए । मेयर पौडेलका अनुसार नगरभित्रका अति विपन्न परिवारले उक्त निशुल्क स्वास्थ्य बीमा पाउन वडाबाट सिफारिस भएर आउनु पर्नेछ ।

मेयर पौडेल भन्छन् ‘यहाँका धेरै विपन्न नागरिकले स्वास्थ्य बीमा गरेका छैनन । जसका कारण औषधि उपचार गर्न निकै असहज बनिरहेको थियो । अब स्वास्थ्य बीमा कार्ड लिएर स्वास्थ्य सेवा लिनेछन् । बर्षौ देखि लुकाएर राखेको रोगको जाँच तथा उपचार गर्न मद्धत मिल्नेछ ।’भवितव्य रुपमा आइपर्ने आर्थिक संकटलाई समाधान गर्ने भएकोले नगरभित्रका गरिव तथा विपन्नहरुको निशुल्क बीमा कार्यक्रम सञ्चालनमा ल्याएको मेयर पौडेलले बताए । विशेषतः आर्थिक रुपमा कमजोर भएका घरपरिवार बीमाको सेवाबाट टाढा रहेका छन् । उनीहरुलाई नै मध्यनजर गर्दै आफ्नोे घोषणापत्र अनुरुप स्वास्थ्य बीमा सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

अति विपन्न, दलित, एकल महिला, अति अशक्त र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क बीमा भनिएको छ । वडा कार्यालयसँगको समन्वयमा घरबाटै बीमामा आवद्ध हुने व्यवस्था गरिएको इटहरी उपमहानगरले जनाएको छ । बीमाकर्ताहरुको समन्वयमा घरमै पुगेर पाँच जना सम्मको परिवारको लागि ३५ सय रुपैयाँ तिरेर बीमा गर्ने गरेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया