सन्दीपलाई राष्ट्रिय टिममा फर्काइएको भन्दै माइतीघरमा क्यानविरुद्ध प्रदर्शन

Aadil Times 1+ समाचार ( )
२१ माघ २०७९

बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै विरोध प्रदर्शन गरिएको छ । शनिबार दिउँसो काठमाडौंको माइतीघरमा नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा ‘अभियुक्त रमाउँदै, पीडित डराउँदै’, ‘मेरो राष्ट्रिय टिममा बलात्कारको अभियुक्त हुन सक्दैन’, ‘उता फिक्सिङ गराउने, यता अभियुक्तलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद’, ‘खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नु पर्दैन रु’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाइएको थियो ।

क्यानले बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई समेट्दै आईसीसी लिग डिभिजन–२ अन्तर्गत नेपालमा हुने नामिबिया र स्कटल्यान्डसँगको खेलका लागि २० जनालाई क्याम्पमा बोलाएको थियो । क्रिकेटर लामिछाने शुक्रबारदेखि नियमित अभ्यासमा छन् ।

बलात्कारको आरोप लागेपछि सन्दीपलाई क्यानले निलम्बन गरेको थियो । गएको मंगलबार पोखरामा बसेको क्यानको बोर्ड बैठकबाट सन्दीप माथिको निलम्बन फुकुवा गर्दै उनलाई प्रशिक्षणमा बोलाएको थियो ।

उच्च अदालत पाटनले सन्दीपलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । उनलाई क्रिकेट खेल्न रोक लगाइएको छैन ।


प्रतिक्रिया