मोरङको बेलबारीमा शंकास्पद वस्तु फेला, सबै मतदान केन्द्रमा मतदान सुरु

Aadil Times 1+ समाचार ( )
३ मंगशिर २०७९

सबैतिर मतदान जारी रहेका बेला मोरङको बेलबारी नगरपालिका–२ लालभित्तीमा शंकास्पद वस्तु फेला परेको छ ।

टिनको बट्टाबाट तार बाहिर निकालेर छाडेको अवस्थामा बमजस्तो देखिने शंकास्पद वस्तु आइतबार बिहान ८ः३० बजेतिर फेला परेको हो । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता बढाइएको जानकारी दिए । उनका अनुसार मानिसको आवतजावत बन्द गरेर उक्त स्थानलाई प्रहरीले सुरक्षित राखेको छ ।

उक्त वस्तु डिस्पोज गर्नका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै छ । एसपी कोइरालाले निर्वाचन बहिष्कार गरेको समूहले मतदानलाई प्रभावित पार्नका लागि शंकास्पद वस्तु राखेको हुनसक्ने बताए । तर सबैतिरको सुरक्षा व्यवस्था कडा पारिएका कारण ढुक्क भएर मतदान गर्न मतदातालाई उनको आग्रह छ । ‘मतदाता, उम्मेदवार र मतदानमा खटिने कर्मचारी सबैको सुरक्षाको ग्यारेन्टी गरिएको छ,’ एसपी कोइरालाले भने ।

यसैबीच मोरङका सबै मतदान केन्द्रमा बिहानैदेखि मतदान सुरु भएको छ । मतदाताहरु बिहानैदेखि मत खसाल्न लाइनमा बसेका छन् । मतदानस्थल ३ सय ६ वटा रहेको मोरङमा ८ सय ३९ वटा स्थायी र २ वटा अस्थायी केन्द्र छन् ।

सबै केन्द्रमा मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनका अनुसार कुनै पनि अवरोध बिना निर्वाध रूपमा मतदान गर्ने क्रम जारी छ । ‘भयरहित, स्वतन्त्र, निष्पक्ष, मर्यादित र धाँधलीरहित हिसाबबाट निर्वाचन सम्पन्न गर्न उच्च सुरक्षा सतर्कता बढाइएको छ,’ प्रजिअ दाहालले भने, ‘सबै खालका त्रासबाट मुक्त भएर स्वविवेकले मतदान गर्न मतदातामा आग्रह गरिएको छ ।

प्रतिक्रिया