उपराष्ट्रपतिमा रामसहायलाई मतदान गर्ने नेपाली कांग्रेसको निर्णय

Aadil Times 1+ समाचार ( )
१ चैत्र २०७९

नेपाली कांग्रेसले उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गठबन्धनबाट साझा उम्मेदवार रहेका यादवलाई मतदान गर्ने निर्णय गरेको बैठकपछि कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

बैठकले संघीय संसद र प्रदेशसभाका सदस्यहरूलाई उपराष्ट्रपतिका उम्मेदवार यादवको पक्षमा समर्थन गर्न निर्देशन दिने निर्णय पनि गरेको उनले बताए ।

उनले २०८० वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र लगायत उपनिर्वाचन हुने अन्य प्रतिनिधि सभा सदस्यतर्फको प्रत्यक्षतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) बमोजिम क, ख, ग बमोजिमको प्रक्रिया पुर्‍याएर उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई उपयुक्त समयमा निर्देशन गर्ने निर्णय भएको बताए ।

प्रवक्ता महतले सरकारमा जानेकुरामा बैठकमा छलफल नभएको र प्रधानमन्त्रीले ७ गतेसम्म विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार हुने बताए ।

त्यस्तै, बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई विजयी गराउन भूमिका खेल्ने सबै पक्ष र सांसदहरूलाई धन्यवाद ज्ञापन गर्दै राष्ट्रपतिमा विजयी पौडेललाई सफल कार्यकालको शुभकामना दिएको छ ।

प्रतिक्रिया