नेपाल टी–२० लिगः लुम्बिनीसँग विराटनगर पराजित

Aadil Times 1+ समाचार ( )
१७ पौष २०७९

लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिग क्रिकेटमा आइतबार भएको खेलमा जित निकालेको छ । लुम्बिनीले आइतबार भएको खेलमा विराटनगर सुपर किंग्सलाई १२ रनले पराजित गरेको हो ।

१२३ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभर सकिन तीन बल बाँकी हुँदा सबै विकेटको क्षतिमा ११० रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि अर्जुन साउदले ४१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । त्यस्तै, विवेक यादवले १९, गौरान्सु शर्माले १२ र पृथु बाँस्कोटाले ११ रन बनाए ।

बलिङतर्फ लुम्बिनीका ह्यारी टेक्टर, तिलक भण्डारी र शेड्ली भानले समान २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी अल स्टार्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२२ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । उनी ४२ बलमा ६ चौका प्रहार गर्दै ५० रनमा अविजित रहे । त्यस्तै, कुशल भुर्तेल, ह्यारी टेक्टर र अनिलकुमार साहले समान १३-१३ रन बनाए । बलिङतर्फ विराटनगरका नन्दन यादव, सूर्य तामाङ र विवेक यादवले समान २–२ विकेट लिए ।

शीर्ष स्थानमा रहेको लुम्बिनी अल स्टार्सले यो जितसँगै सात खेलबाट ६ मा जित र एक खेलमा हारसहित १२ अंक बनाएको छ । पराजित विराटनगरले ६ खेलमध्ये चार खेलमा हार र दुई खेलमा मात्रै जित निकालेको छ ।

प्रतिक्रिया