विराटनगरमा मुख्य सडकलाई पार्किङ निषेध गर्ने अभियानलाई निरन्तरता

Aadil Times 1+ समाचार ( )
५ वैशाख २०८०

विराटनगर महानगरपालिकाले मुख्य सडकलाई पार्किङ निषेध गर्ने अभियानलाई निरन्तरता दिएको छ । पार्किङस्थललाई व्यवस्थित गर्न भन्दै केही समय स्थगित गरेको पार्किङ निषेध अभियानलाई महानगरले मंगलबारदेखि पुन :पूर्ववत् अवस्थामै कार्यान्वयनमा ल्याएको हो ।

मंगलबार शनिमन्दिरदेखि अस्पतालचोक, जलजलाचोकदेखि पञ्चमुखी हनुमान मन्दिर, ट्राफिकचोक आसपास र हिमालय रोडलाई पार्किङ निषेध गर्ने महानगरको यसअघिको निर्णयलाई कार्यान्वयनमा ल्याइएको छ ।

पार्किङ स्थलमा सिसी क्यामेरा र बत्ती जडान गर्नुका साथै गिट्टी राखेर सभ्याएर व्यवस्थित गरिसकेको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए । व्यापारीहरुले पार्किङस्थललाई व्यवस्थित र सुरक्षित बनाउन माग गर्दै आएका थिए ।

व्यापारीहरुको माग सम्बोधन गर्दै केही समय पार्किङ निषेधलाई स्थगन गरेर महानगर सिसी क्यामेरा र बत्ती जडान गर्न भुइँमा गिट्टी हालेर सम्याएर व्यवस्थित गर्न लागेको थियो ।

सबै पार्किङस्थल व्यवस्थित भएकाले अब क्रमशस् पूर्ववत् निर्णयलाई कार्यान्वयन गर्दै लगिने मेयर नागेश कोइरालाले बताए । उनले विराटनगरलाई व्यवस्थित बनाउने महानगरको अभियानमा साथ दिन आग्रहसमेत गरे ।

सुरुमा केही असहज र असजिलो महसुस भए पनि विस्तारै बानी हुँदै गएपछि सहज हुने उनको भनाइ थियो । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा साथ दिन मेयर कोइरालाले विराटनगरवासीलाई आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया