कटहरी गाउँपालिकामा एकदिने रोजगार मेला सम्पन्न

Aadil Times 1+ समाचार ( )
१३ मंगशिर २०७९

मोरङको कटहरी गाउँपालिकामा एकदिने रोजगार मेला सम्पन्न भएको छ । 

स्वदेशमै कामको खोजीमा रहेका तथा वैदेशिक रोजगारबाट फर्किएकाहरु युवाहरुलाई रोजगारको अवसर सिर्जनागर्ने उद्धेश्य सहित कटहरी १ को कृषि फलफुल तथा थोक बजार परिसरमा मेला आयोजना गरिएको हो । मेलामा रोजगारका लागि करीव नौ सयजनाले विभिन्न कम्पनिहरुसँग सम्पर्क स्थापित गरेका छन् ।

मेलामा कामको खोजीमा रहेका व्यक्तिहरुको लगत दर्तागर्ने, रोजगारदाताहरुले आफ्नो कम्पनि वा सेवा क्षेत्रमा आवश्यक परेको जनशक्तिको पहिचानगर्ने काम गरेका छन् । मेलाको उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य डा.अविनाश बोहराले बर्षेनी करिव ५ लाख युवाहरु श्रम बजारमा आउने गरेको बताउनुभयो । 


उहांले श्रम बजारमा आएका जनशक्तीले आवश्यक रोजगार नपाउदा ७० प्रतिशत वैदेशिक रोजगारीमा जाने गरेको जानकारी दिनुभयो । पर्याप्त रोजगारीको अवसर सृजनागर्न मुलुकको औद्योगिककरणमा जोड दिनुपर्ने उहाँको भनाई थियो । कटहरी गाउँपालिकका अध्यक्ष देवराज चौधरीले कटहरी गाउंपालिकाले पहिलो पटक आफ्नो क्षेत्रमा रोजगार मेलाको आयोजना गर्न पाएकोमा खुशी व्यक्तगर्दै यो मेलाबाट कटहरी गाउं पालिकामा रहेका वेरोजगार युवाहरुलाई यसै क्षेत्रमा रहेका कलकारखानामा रोजगारी दिन पहलगर्ने बताउनुभयो ।


मोरंगका प्रमुख जिल्ला जिल्ला अधिकारी काशीराज दाहालले रोजगार मेलाको आयोजनागरि बेरोजगारहरुलाई रोजगारी दिने कार्य प्रशंसनीय रहेको बताउनु हुंदै मेलाको सफलताको शुभकामना दिनु भएको थियो । मेलाको अवसरमा रोजगारदाता कम्पनीहरुको तर्फबाट रिलायन्स स्पिनिङ मिलले जुनियर अपरेटरतर्फ दुई सय पचास जना, अरिहन्त मल्टिफाइवरले दुई सयजना र रघुपति जुटमिलले दुई सयजना श्रमिक कामदारको आवश्यकता सिर्जना गरेका छन् । 

यसैगरि अन्य कम्पनीहरुले समेत रोजगारको खोजीमा रहेका ब्यक्तीहरुको तथ्यांक संकलन गरि लगेको जनाईएाको छ । मेलामा मनमोहन प्राविधिक विश्वविद्यालय, शैलजा आचार्य स्मृति पोलिटेक्निक लगायत विभिन्न तालिम प्रदायक संस्था र जव पोर्टलहरुले स्टल राखेका थिए । अन्र्तराष्ट्रिय श्रम संगठनको वेलकम होम परियोजनाको सहयोगमा, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश  १ र कटहरी गाउं पालिकाको आयोजनामा मेला आयोजना गरिएको हो ।

प्रतिक्रिया