विराटनगरमा फेरी एक व्यवसायीले गरे आत्महत्या

Aadil Times 1+ समाचार ( )
१६ माघ २०७९

दुई जना व्यवसायीको असामयिक निधनपछि पूर्वका आर्थिक क्षेत्रका सङ्घसंस्था मर्माहत भएका छन् । गत मङ्गलबार काठमाडौँको नयाँ बानेश्वरमा इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका थिए ।

उनको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा गत बुधबार विहान निधन भएको थियो । आचार्यको निधन लगत्तै बुधबारनै विराटनगरका विद्युतीय सामग्रीको व्यवसाय गर्ने मोहन न्यौपानेले विराटनगर–३ स्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे ।

लगत्तै शनिबार विराटनगरकै दुग्ध व्यवसायी कृष्णप्रसाद खतिवडाले विराटनगर–४ स्थित आफ्नै निवासमा झुण्डिएर आत्महत्या गरेका छन् । व्यवसायीक रुपमा दुग्ध उत्पादन गरी कृषि पेशा गर्दै आएका खतिवडाले निवासमै आत्महत्या गरेका हुन् ।

आत्महत्या गरेका खतिवडाले विराटनगर–३ स्थित हिमाली टोलमा जग्गा भाडामा लिएर गाई फर्म खोलेका थिए ।त्यसबाट उनले राम्रै आम्दानीसमेत गर्दै आएका थिए । सो स्थानमा जग्गा अपुग भएपछि खतिवडा परिवार विराटनगर–४ इक्राही सरेको थियो । खतिवडा गाईवस्तुको हेरचाह गर्थे भने उनकी श्रीमती सफारीमा घरघर गाईको दुध लगेर बेच्ने गर्थिन् ।

शनिबार श्रीमती दुध बिक्रिका लागि हिँडेपछि खतिवडाले घरमा कोही नभएको मौकामा आत्महत्या गरेका थिए । यी सवै घटनामा प्रमुख कारण वित्तिय संकट हुनसक्ने सरोकारवालाहरुले बताएका छन् ।

मोरङ व्यापार सङ्घका उपाध्यक्ष विकासकुमार बेगवानीले मुलुकमा आर्थिक सूचकाङ्क सकारात्मक नरहेको अवस्थामा राज्य अलि बढी संवेदनशील बन्नुपर्ने बताए ।

उनले आर्थिक क्षेत्रमा सुधारका ठाउँ प्रशस्तै रहेकाले राज्यले सुधारका कदम तत्कालै उठाउनुपर्ने बताए । सङ्घका अध्यक्ष नवीन रिजालले बढ्दो बैंकको ब्याजदर र प्रतिकुल आर्थिक नीतिका कारण व्यवसाय धरासायी बन्दै गएको बताए ।

उनले आफूले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग भेटेर व्यवसायीको माग सम्बोधन गर्न अनुरोध गरेको बताए । उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले आइपर्ने परिस्थितिबाट भाग्नुको साटो समस्या समाधानतर्फ उन्मुख रहन जरूरी रहेको बताए ।

उनले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सङ्घ संस्थाको स्थापना भएको भन्दै समस्या पर्दा उद्योग व्यवसायीले यस्ता सङ्घ संस्थासँग छलफल र परामर्श लिनुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरेले आर्थिक क्षेत्रलाई चुस्त दुरूस्त बनाउन राज्यले निजी क्षेत्रको समन्वयमा कार्य गर्नुपर्ने बताए । अध्यक्ष घिमिरेले वित्तिय संकटकै कारण दुःखदायी घट्ना घटेको भन्दै सवै व्यवसायीप्रति राज्यले न्याय गर्नुपर्ने बताए ।

प्रतिक्रिया