मुद्दा फिर्ता गर्ने सरकारको निर्णयविरूद्ध उपप्राध्यापक प्रेम चलाउने पुगे सर्वोच्च

Aadil Times 36+ समाचार ( )
६ आश्विन २०८०

ज्यानमार्ने कसुरको मुद्दा फिर्ता गर्ने सरकारको निर्णयविरूद्ध उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउनेले बुधबार सर्वोच्च पुगेर रिट दर्ता गराएका हुन्।

आफूमाथि नेविसंघका कार्यकर्ताले कुटपिट गरेको घटनाको मुद्दा सरकारले फिर्ता गर्ने निर्णयविरूद्ध उनले सर्वोच्चमा रिट हालेका हुन्। 

अधिवक्ता सुरज बस्नेत, सुनिता राउत बस्नेत, स्वागत नेपाल, भरत खड्का लगायतले चलाउनेको पक्षमा रिट दायर गरेका हुन्। 

गत जेठ ३० गतेको मन्त्रिपरिषदको बैठकले उक्त मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो। उक्त निर्णय सरकारी वकिल कार्यालय काठमाडौंमार्फत काठमाडौं जिल्ला अदालतमा पुगेको छ।

सरकारको निर्णय बाहिर आएसँगै उपप्राध्यापक प्रेम चलाउनेले संघर्ष गरिरहेका छन्। उनले त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय परिसरमा उनले अनसन सुरू गरेका छन्। 

नेविसंघ त्रिवि समितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल, रुपेश शाह, रविन लामा, सहयुज श्रेष्ठ, निरज रानामगर र दीपक ओझाले उपप्राध्यापक चलाउनेमाथि कुटपिट गरेको आरोप छ। उनीहरूले २०७७ साल असोज २० गते चलाउनेमाथि कुटपिट गरेका थिए।

प्रतिक्रिया