मलको हाहाकार हुँदा पनि यो बर्ष धानको उत्पादन बढ्यो

Aadil Times 1+ समाचार ( )
२५ मंगशिर २०७९

मोरङ बेलबारी ९ का कर्णबहादुर थापाले १० विघा जग्गामा धानबाली लगाएका थिए । यो पटक मात्रै होइन अघिल्लो वर्षदेखि नै रासायनिक मलको सारै अभाव थियो । उनलाई पनि मलको अभाव थियो । तर, मलको सारै अभाव हुँदा पनि धान उत्पादन नघटेको उनी सुनाउँछन् । धान पोटाउने सिजनमा पानी परेको कारण धान वृद्धि भएको उनको भनाइ छ । उनले साम्बा मन्सुली, राधा १२, चैते २, हर्दिनाथ, सोना मन्सुलीलगायतको जातको धान लगाएका छन् । उनी धानको बिउ उत्पादन गर्छन् ।

बेलबारी ८ का लिलानाथ ओझाले पनि ३ विगाहा जग्गामा धान लगाएका छन् । उनलाई पनि मल पर्याप्त नपाउँदा उत्पादन घट्ने चिन्ता थियो । तर, अहिले धान उत्पादन बढ्ने उनको अनुमान छ । उत्पादनको अवस्था अहिले नै कति हुन्छ भन्न सकिएको छैन । तर, बढेको अनुमान छ उनी सुनाउँछन्, ‘धान जतिखेर पोटाउने बेला भएको थियो त्यसबेला आकाशे पानी पर्दा धान उत्पादन बढेको जस्तो लाग्छ । धानका लागि मल प्रमुख कारण होइन रहेछ । धानका लागि सिंचाइ र गोडमेल भयो भने धेरै मल नचाहिने रहेछ । मोरङ रंगेली १ का योगेन्द्र बस्नेत पनि मल अभाव हुँदा पनि धान उत्पादन बढेको सुनाउँछन् । ‘मल गत वर्षदेखि पाएको अवस्था नै थिएन । यस पटक मौसमले साथ दिएको हो । पानी कम आउँदा धान उत्पादन बढेको अनुमान छ,’ उनी भन्छन् ।

प्रदेश १ कृषि निर्देशनालयले दिएको तथ्यांक अनुसार अघिल्लो वर्षभन्दा यो वर्ष १ दशमलव २७ प्रतिशतले धान उत्पादन वृद्धि भएको छ । प्रदेश १ मा ३ लाख ३१ हजार ८८ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो भने १२ लाख ९८ हजार ८५५ दशमलव १५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा भने धान उत्पादन १२ लाख ८२ हजार ५७३ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष १६ हजार २८२ मेट्रिक टन धान बढी उत्पादन हुने उक्त कार्यालयको अनुमान छ ।

मल अभावकाबीचमा पनि धान उत्पादन बढ्नुमा सिंचाई सुविधा र खेती गर्ने तरिकामा परिवर्तन मुख्य कुरा भएको विज्ञहरु बताउँछन् । ‘हाम्रोमा चाहिं धान पसाउने बेलामा युरिया हाल्ने चलन थियो त्यसले भुषमात्रै उत्पादन हुन्थ्यो । यस पटक मल हाल्न नपाएको कारण भुष हुन पाएन र धान उत्पादन बढ्यो,’ धान विज्ञ डाक्टर राजेन्द्र उप्रेती बताउँछन्, ‘अर्को कुरा पानीले भिजाएर डुबाएर खेती गर्ने हाम्रो जस्तो प्रणालीमा युरिया भनेको हालेकोमध्ये २५ प्रतिशत मात्रै धानमा प्रयोग हुन्छ । त्यसकारण मलले मात्रै धेरै रुवाबासी गर्नुपर्ने अवस्था छैन । मलको मात्रा मुख्य होइन मल प्रयोगको तरिका चाहिं मुख्य हो ।

उप्रेतीले धान उत्पादन वृद्धिमा अन्य केही कारणहरु पनि रहेको बताए । ‘अघिल्लो वर्ष भन्दा यो वर्ष धानको उत्पादन राम्रो देखिएको छ । यो हुनुमा दुई तीन कारण छन् । नेपालमा मात्रै होइन संसारका अरु थुप्रै देश भारत, चीनमा पनि धान बढेको छ । हाम्रोमा मल प्रयोग भइरहेको थियो तर, चाहिने भन्दा धेरै भएको थियो,’ उप्रेती भन्छन्, ‘मैले अध्ययन गरेर हेर्दा प्रतिकठ्ठामा ३ मन फलाउने र ७ मन धान फलाउने किसानले उत्तिनै मल प्रयोग गरिरहेका छन् । त्यो तीन मन फलाउनेले त मल खेर फालिरहेको थियो नि । त्यो खेर फाल्न यस पटक पाएनन् । अर्को कुरा खेतमा पानी छेकेको छेकेकै गर्ने हाम्रो बानी छ नि त्यसले धानको जराको विकास हुँदैन । जराको विकास नभएपछि जमिनको तल्लो तहमा भएको मल तानेर लिन सक्दैन । यो पटक पानी चाहिं कुनैकुनै समय मात्रै आयो । त्यसले गर्दा धानको जरा तलतलसम्म जान सक्यो ।

धान पसाउने बेलामा पानी पर्दा धानको लागि पर्याप्त सल्फर उपलब्ध हुँदा पनि धान उत्पादन बढेको उनी बताउँछन् । धानलाई सँधै पानी चाहिन्छ भन्ने छैन । भिजेको मात्रै जमिन भयो भने राम्रो काम गर्छ । जरा तलसम्म जान पाउँछ । स्वस्थ जराले स्वस्थ खान पाउँछ । हामी परम्परागत रुपमा धान भनेको माछा जस्तो डुबाएर राख्ने चलन छ । त्यसले वृद्धि र विकासमा असर गरेको छ । उत्पादन घटेको छ । सुकाउने र लगाउने मात्रै गर्दै गयो भने धानमा केही मात्रामा उत्पादन बढ्छ र मल पनि उचित समयमा लगाउने गर्नुपर्छ उप्रेती भन्छन् ।

धानबारे जानकार पूर्व कर्मचारी सागर भट्टराई पनि धानमा बढी पानी जमाउने गर्दा उत्पादनमा असर गर्ने बताउँछन् । यसपटक धेरै पानी नपरेर चाहिने समयमा पानी परेको कारण पनि उत्पादन बढेको उनी बताउँछन् । ‘हामी धानमा बढ्ता समय पानी जमाउँछौं ।

प्रतिक्रिया