कोशी प्रदेश सरकारद्धारा सेवा केन्द्र निर्माणको तयारी

Aadil Times 1+ समाचार ( )
२६ चैत्र २०७९

कोशी प्रदेश सरकारले तीन ठाउँमा मुख्यमन्त्री अत्यावश्क सेवा केन्द्र निर्माण गर्ने भएको छ ।

सो कार्यक्रम अन्तर्गत सोमबार एउटा सेवा केन्द्रको पूर्वाधार निर्माणका लागि डिपिआर पारित गर्ने र दुईवटा केन्द्र निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीय तहबीच संझौता भएको छ ।

झापाको अर्जुनधारा नगरपालिकामा निर्माण गर्न लागिएको मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको भवन लगायत आवश्यक पूर्वाधार निर्माणका लागि तयार पारिएको डिपिआर सोमबार पारित गरिएको हो ।

अर्जुनधारा नगरपालिकाको वडा नं २ मा उक्त क्षेत्रका चारवटा पालिकाहरु अर्जुनधारा, कनकाई र विर्तामोड नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकालाई सेवा उपलब्ध गराउने गरी सेवा केन्द्र स्थापना गर्न यस अघि नै आन्तरिक माामिला तथा कानुन मन्त्रालय र स्थानीय तहहरुबीच सम्झौता भएको थियो ।

त्यसैगरी मोरङको रङ्गेली नगरपालिकाको दर्वेशा र तेह्रथुमको आठराई गाउँपालिकाको वडा नं १ पुरानो बजारमा केन्द्र निर्माण गर्ने गरी सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीयतहहरु बीच सम्झौता भएको छ ।

रङ्गेलीमा निर्माण गरिने सेवा केन्द्रले दक्षिणपूर्वी मोरङका रङ्गेली सुनवर्षि, कानेपोखरी र धनपालथान गाँउपालिकालाई सेवा उपलब्ध गराउने छ भने तेह्रथमको आठराईमा निर्माण गरिने सेवा केन्द्रले आठराई र फेदाव गाउँपालिकालाई सेवा उपलब्ध गराउनेछ ।

सेवा केन्द्र निर्माणका लागि आवश्यक निर्देशिका समेत मन्त्रिपरिषद्ले पारित गरिसकेको छ ।

पूर्वाधार निर्माणपछि सञ्चालनमा आउने मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रबाट वारुणयन्त्र, एम्बुलेन्स र प्रहरी लगायतका सेवाहरु एकीकृत रुपमा उपलब्ध गराइने छ ।

विशेष गरेर स्थानीयतहहरुमा विपद् व्यवस्थापनका लागि सेवा उपलब्ध गराउने उद्देश्यले कोशी प्रदेश सरकारले सेवा केन्द्र सञ्चालनमा ल्याउन लागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया