महेन्द्र मोरङ क्याम्पसको जग्गामा कालोपत्रे सडक

Aadil Times 1+ समाचार ( )
१५ मंगशिर २०७९

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको जग्गा मिचेर कालोपत्रे सडक बनाइएको छ । विराटनगरस्थित क्याम्पसको छात्रावासदेखि पश्चिमतर्फ रहेको जग्गा मिचेर कालोपत्रे सडक बनाइएको हो । २०१२ सालमा स्थापित क्याम्पसको छात्रवास पछाडिको जग्गामा स्थानीयले मिचेर जबरजस्ती कालोपत्रे सडक बनाएको क्याम्पस प्रशासनले जनाएको छ ।

सल्लाह र समन्वय नगरी एकलौटी रुपमा आफूहरुलाई फाइदा हुने हिसाबले सडक बनाइएको क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले बताए । जग्गा मिचेको विषयमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय, प्रदेश १ मुख्यमन्त्री कार्यालय, प्रधानमन्त्री कार्यालयलगायत निकायमा जानकारी दिइएको क्याम्पसले जनाएको छ ।

क्याम्पसको नाममा २२ बिगाहा जग्गा दर्ता रहेको र त्यस अनुसारको मालपोत राजश्व बुझाउँदै आएको क्याम्पस प्रमुख तिम्सिनाले बताए । उनले भने, ‘कोइराला परिवाससँग क्याम्पस प्रशासनले जग्गा खरिद गरेको थियो । क्याम्पसको पश्चिमतर्फ एउटा इँटाभट्टाको खाल्डो एकजना व्यक्तिले खरिद गरे । छठ पूजा गर्नहरुले त्यहाँ पूजा गर्दै आएका थिए ।’

खाल्डो जग्गा खरिद गरेको केही समयसम्म केही समस्या थिएन । क्याम्पसको पश्चिमतर्फ रहेको खाल्डोवाला जग्गाधनीले खाल्डो पुर्दै जाँदा त्यहाँ रहेको सिमानाका काठका मुड्काहरु पनि पुरिएको तिम्सिनाले बताए । सिमानाका मुड्काहरु पुरिएसँगै जग्गा मिच्ने काम हुन थालेको हो ।

क्याम्पसको जग्गा छेउछाउका व्यक्तिहरु मिलेर उनीहरुलाई फाइदा पुग्ने गरी क्याम्पसलाई सोधखोज नगरी बीचबाटै मिचेर कालोपत्रे सडक बनाउने काम भएको छ । मिचिएको जग्गा प्रचलित दरअनुसार धुरको ८ लाख रुपैयाँभन्दा बढी पर्छ ।

‘वडाध्यक्षलगायत स्थानीयले कलेजलाई बाटो बनाउने समयमा सोध्ने वा सल्लाह गर्नुपर्नेमा त्यसो नगरी बनाइएको छ’ तिम्सिनाले भने, ‘क्याम्पसको जग्गामा बाटो बनाउन थालेपछि विद्यार्थी ले काम रोकेका थिए तर वडाध्यक्षलगायत स्थानीयले केही दिनपछि हतारहतार बाटो खनेर कालोपत्र गर्ने काम गरेका छन् । कानुनविपरीत काम गरेकाले सम्बन्धित सरकारी निकायमा जानकारी गराएका छौं ।’

क्याम्पसको जग्गा छुट्याउनका लागि नापी कार्यालयमा निवेदन दिइसकेको उनले बताए । त्यो प्रक्रिया पनि पूरा हुन नदिई जबरजस्ती क्याम्पसको जग्गाबाट सडक बनाउने काम भएको उनको भनाइ छ ।

छात्रावासदेखि दक्षिणतर्फको क्याम्पसको जग्गा अतिक्रमण गरेर केही व्यक्तिहरु बसेका छन् । सबै तर्फबाट क्याम्पसको जग्गा अतिक्रमण गर्न थालेकाले जग्गा नापीका लागि क्याम्पस प्रशासनले प्रक्रिया अघि बढाएको बताएको छ ।

‘यो अहिले बनेको बाटो क्याम्पसकै जग्गामा हो’ स्थानीय सरिता अधिकारीले भनिन्, ‘तर, २०६२–६३ मा तत्कालीन क्याम्पस प्रमुख गोपाल कार्कीसँग यहाँका बासिन्दाको बाटो प्रयोग गर्ने सम्झौता भएको र सोही अनुसार अहिले सडक बनाइएको हो ।’ उक्त बाटो १८ वर्षदेखि प्रयोग हुँदै आएको स्थानीयले बताएका छन् ।


प्रतिक्रिया