आफ्नो पार्टी नेतृत्वको सरकार हुँदैमा भनेकै ठाउँमा सरुवा हुदैन : मन्त्री मोदी

Aadil Times 1+ समाचार ( )
९ फाल्गुन २०७९

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवामा अब कसैको भनसुन नचल्ने बताएका छन् ।

विराटनगरमा मंगलबार नेपाल राष्ट्रिय कर्मचारी संगठन १ नम्बर प्रदेशको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

कर्मचारी सरुवाको बेथिति न्युनीकरणका लागि केही नीतिगत व्यवस्था गर्ने बताउँदै मन्त्री मोदीले सरुवामा नेताले भनिदिनुपर्ने वा नेतालाई भन्न लगाएर सुगम ठाउँमा बस्ने प्रवृत्ति अब अन्त्य हुने बताए । ‘त्यसको अन्त्यका लागि केही नीतिगत व्यवस्था गर्छौ’ उनले भने, ‘अब सरुवामा अब भनसुन चल्दैन ।’

भर्खरै बढुवा भएका उपसचिवलाई कसैको कुरा नसुनीकन स्थानीय तहमा पठाएर भनसुन प्रवृत्ति अन्त्यको थालनी गरेको समेत मन्त्री मोदीले उल्लेख गरे । भनसुन अन्त्यका लागि सुरुवात आफ्नैबाट गर्नुपर्ने बताउँदै उनले पार्टी निकट कर्मचारीहरुलाई नियम र पद्दतिभन्दा बाहिरको सिफारिस बोकेर नआउन आग्रह गरे ।

आफ्नो पार्टी नेतृत्वको सरकार भएको बेला माओवादी निकटका कर्मचारीहरुले भनेकै ठाउँमा सरुवा हुनुपर्छ भन्ने मानसिकता त्याग्न आग्रह गर्दै मन्त्री मोदीले प्रभाबकारी सेवा प्रवाह र सुशासनको एजेण्डा कर्मचारी संगठनले बोक्नुपर्ने बताए ।

ट्रेड युनियनमार्फत् राजनीतिमा सक्रिय कर्मचारीहरुलाई जनताको सेवालाई प्राथमिकता राख्न मोदीले निर्देशन दिए । जनताको सेवाभन्दा बढी राजनीतिमा क्रियाशील भएको पाइए निर्मम भएर कानुनी रुपमा कारबाहीको दायरामा ल्याउने उनको चेतावनी छ ।

प्रधानमन्त्री प्रचण्डको मुख्य प्राथमिकता मुलुकमा सुशासन कायम गर्ने रहेकोले चुस्त सेवा प्रवाह गरी सुशासन कायम गर्नका लागि जोड दिन उनले आग्रह गरेका थिए ।


प्रतिक्रिया