बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बितेको आर्थिक बर्षमा झण्डै ६१ लाख खुद मुनाफा

Aadil Times 1+ समाचार ( )
१९ मंगशिर २०७९

विराटनगर–३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बितेको आर्थिक बर्षमा झण्डै ६१ लाख खुद मुनाफा आर्जन गरेको छ । 

उक्त सहकारीले आर्थिकबर्ष २०७८/७९ मा ६० लाख ९६ हजार ९ सय ८२ रुपैया खुद मुनाफा आर्जन गरेको हो । सो सहकारीको आईतबार आयोजित १४ औं बार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै संस्थाका लेखा समिति संयोजक अविनाश कुमार निधिले आर्थिकबर्ष २०७८/७९ मा १ करोड ९१ लाख ३४ हजार ४७४ रुपैया आम्दनी गरेको जानकारी दिनुभयो । आम्दनीबाट प्रशासनिक र उपभोग खर्च १३ लाख ६ हजार,संचालन खर्च १५ लाख ३ हजार र कर्जा जोखिम कोष खर्च ५ लाख ४६ हजार लगायतका खर्च सहित करहरु समेत कटाई संस्थाले झण्डै ६१ लाख खुद बचत गर्न सफल भएको बताउनुभयो । सो सहकारीका अध्यक्ष राजेन्द्र प्रसाद खनालले संस्थाले आर्जन गरेको नाफा बाट शेयर धनिहरुलाई १५ प्रतिशत लाभांश बोनश शेयर वा नगद लाभांश वितरण गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले संस्थामा कार्यरत कर्मचारीहरुलाई समेत २ महिनाको तलब बराबरको रकम बोनस बितरण गरिने बताउनुहुँदै बितेको आर्थिक बर्षमा नेपाल सरकारलाई आयकर र ब्याज कर समेत गरेर १० लाख ७६ हजार ७०१ रुपैयाँ बुझाईएको जानकारी दिनुभयो । १२ लाख ६० हजार पुँजी र ६३ जना शेयर सदस्यहरु संगठित भई २०६५ साल मंसिर १८ गते सो सहकारी दर्ता भएको थियो । हाल सो सहकारीको शेयर पुँजी २ करोड २५ लाख ५८ हजार ८०० छ भने शेयर सदस्यहरुको संख्या ८ सय ६५ छ । नव निर्वाचित प्रदेश सभा सदस्य भीम पराजुलीले उक्त सहकारीको साधारण सभाको उदघाटन गर्नुभएको थियो । साधारण सभाको अवसरमा सो सहकारीले आयोजना गरेको रक्तदानबाट २५ पिन्ट रक्त संकलन भएको जनाईएको छ ।





प्रतिक्रिया