राजस्व कार्यालयको लक्ष्य पूरा भएन

Aadil Times 1+ समाचार ( )
८ माघ २०७९

मुलुकको अर्थतन्त्र चुनौतिमा रहेको चर्चा चलेको बेला आन्तरिक राजस्व विभाग अन्तर्गत पूर्वका ४ प्रमुख कार्यालयले लक्ष्य पुरा गर्न नसकेको पाइएको छ ।

मोरङको विराटनगर, सुनसरीको इटहरी र धरान तथा झापाको चन्द्रगढीस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिने लक्ष्य हासिल गर्न नसकेका हुन् ।

खाद्यान्न, लत्ताकपडा, मदिरा, सुर्ती चुरोट, निर्माण सामग्री आदिको मागमा कमी आउँदा कारोबार घटेको छ । यसको सोझो असर राजस्व संकलनमा परेको छ ।

बजारको माग नै विगतभन्दा घटेकोले राजश्वमा असर परेको व्यवसायीहरु बताउँछन् । खाद्यान्न, लत्ताकपडादेखि सबैजसो उपभोग्य वस्तुको बिक्री २० देखि ७० प्रतिशतले घटेको उनीहरुको भनाइ छ । बिक्री भएको मालवस्तुको भुक्तानी पनि समयमा नहुँदा राजश्वमा असर परेको छ ।

पूर्वका मदिरा उद्योगको बिक्रीमा उल्लेख्य ह्रास आउँदा अन्तःशुल्कको असुली पनि कमजोर देखिएको छ । मोरङ व्यापार संघका उपाध्यक्ष विकास बेगबानी यसपटकको पुस मसान्तमा राजस्व कार्यालयको भन्दा बैंकको प्रेसर चर्को भएकोले कतिपय करदाताले बैंकको किस्ता बुझाएर राजश्वको बाँकी राखेका छन् ।

बैंकले कालो सूचीमा राख्यो भने व्यवसाय गर्न ज्यादै गाह्रो हुने भएकोले राजस्व असुलीमा ह्रास आएको व्यवसायीहरु बताउँछन् । व्यवसायीले मूल्य अभिबृद्धि कर समयमा नबुझाए तिर्नुपर्ने करमा थप दस्तुर १० प्रतिशत र ब्याज १५ प्रतिशत लाग्छ । अन्तःशुल्कको रकम समयमा दाखिला नगरे प्रतिबिल प्रतिदिन ०.०५ विलम्ब शुल्क तिर्नुपर्छ । आयकर समयमा नबुझाउनेले १५ प्रतिशत जरिवाना तिर्नुपर्छ ।

आन्तरिक राजस्व कार्यालय विराटनगरले पुस मसान्तसम्मको ४ अर्ब ४८ करोड रुपैयाँको लक्ष्यमा ३ अर्ब ३९ करोड मात्र संकलन गरेको छ । कार्यालयले मूअकरको १ अर्ब १६ करोड ७३ लाखको लक्ष्यमा १ अर्ब १८ करोड ६२ लाख र आयकरको १ अर्ब ६५ करोड ८२ लाखको लक्ष्यमा १ अर्ब ३६ करोड ११ लाख संकलन गरेको छ । अन्तःशुल्कतर्फ १ अर्ब ५६ करोड १४ लाखको लक्ष्यमा ७५ करोड २ लाख मात्र असुली भएको छ ।मोरङको बुढिगंगास्थित नेपाल लिकर कम्पनीले आफ्नो उत्पादनमा ७० प्रतिशतसम्मले कटौती गरेपछि त्यसको सिधा असर अन्तःशुल्क असुलीमा परेको हो ।

उता झापाको चन्द्रगढीस्थित राजस्व कार्यालयले ६ महिनाको लक्ष्य १ अर्ब ६५ करोड १७ लाखमा १ अर्ब ३२ करोड ६ लाख असुल गरेको छ । मूअकरको ६१ करोड ७४ लाखको लक्ष्यमा ४६ करोड ४ लाख, आयकरको ७२ करोड ८० लाखको लक्ष्यमा ६१ करोड ५२ लाख र अन्तःशुल्कतर्फ २५ करोड ८४ लाखको लक्ष्यमा १९ करोड ५४ लाख असुली भएको छ ।

सुनसरीको आन्तरिक राजस्व धरानले पुस मसान्तसम्मको लक्ष्य १ अर्ब ८ करोडमा ७९ करोड २८ लाख मात्र संकलन गर्न सकेको जनाएको छ । कार्यालयले मूअकरको २५ करोड ४७ को लक्ष्यमा १९ करोड ५१ लाख, आयकरको ३७ करोड ५६ लाखको लक्ष्यमा ३० करोड ३५ लाख र अन्तःशुल्कतर्फ ८ करोड ९२ लाखको लक्ष्यमा ३ करोड १० लाख संकलन भएको छ ।

सुनसरीकै अर्काे राजस्व कार्यालय इटहरीले २ अर्ब १७ करोड २० लाखको कुल लक्ष्यमा २ अर्ब १ करोड ७२ लाख असुली गरेको छ । आयकरको ७२ करोड १८ लाखको लक्ष्यमा ५३ करोड ९६ लाख, मूअकरको ६५ करोड ८ लाखको लक्ष्यमा ५८ करोड ९४ लाख र अन्तःशुल्कको लक्ष्य ७६ करोड ३६ लाखमा ८५ करोड ७३ लाख असुल गरेको छ ।

प्रतिक्रिया