मुलुक आर्थिक संकटतर्फ उन्मुख भइरहेकोमा डा.शेखर कोइरालाले चिन्ता व्यक्त गरे

Aadil Times 1+ समाचार ( )
देशलाई सही बाटोमा अगाडि बढाउनका लागि बुद्धिजीवीहरुले ...
१४ मंगशिर २०७९

देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भइरहेकोमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले चिन्ता व्यक्त गरेका छन् ।

विराटनगरस्थित कोइराला निवासमा बुधबार बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुक आर्थिक रुपमा जर्जर हुने अवस्थामा पुगेको बताए । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित कोइरालाले मुलुकलाई सही बाटोमा अगाडि बढाउन बुद्धिजीवीहरुले खबरदारी गर्नुपर्नेमा जोड दिएका छन् ।

‘मुलुकको अर्थतन्त्र एकदमै चिन्ताजनक अवस्थामा पुगेको छ । मुलुक आर्थिक रुपमा बलियो नभएसम्म देशको विकास हुँदैन’ कोइरालाले भने, ‘देशलाई सही बाटोमा अगाडि बढाउनका लागि बुद्धिजीवीहरुले नेताहरुलाई खबरदारी गर्नुहोस् । कतै मैले पनि गलत गरे भने तत्कालै भन्नुहोला ।’

नेता कोइरालाले सुशासन, आर्थिक पारशर्शितालाई आफूले प्रमुख एजेण्डा बनाएको बताएका छन् । सुशासन बिना मुलुकको विकास नहुने दाबी गर्दै कोइरालाले भ्रष्टाचार अन्त्यका लागि सबै दल र नेताले प्रण गर्नुपर्नेमा जोड दिए । नेता कोइरालाले सुशासनका पक्षमा संसद्मा सधैं आवाज उठाउनेसमेत प्रतिबद्धता गरेका छन् । मुलुक अब यथास्थितिमा अगाडि बढ्न नसक्ने बताउँदै कोइरालाले आर्थिक रुपमा समृद्ध बनाउने स्पष्ट दृष्टिकोण र लक्ष्यका साथ काम गर्नु आवश्यक रहेको औंल्याए ।

‘अब एकले अर्कोलाई दोष दिएर समय खेर फ्याल्नु हुँदैन’ उनले भने, ‘कसरी हुन्छ लगानीको वातावरण बनाएर मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउनुपर्छ ।’

भेलामा वरिष्ठ साहित्यकार एवं मानव अधिकार तथा शान्ति समाज मोरङका अध्यक्ष प्राज्ञ दधिराज सुवेदीले प्रदेश १ ले नेता कोइरालाबाट ठूलो आशा र भरोसा राखेको बताए । कोइरालालाई बुद्धिजीवीहरुले माला र खादा लगाएर बधाईसमेत दिएका थिए ।


प्रतिक्रिया